arin enterprises

‘मृगौलामा समस्या देखिने वित्तिकै प्रत्यारोपण गरीहाल्नु पर्दैन’

SamacharDesk – समाचारडेस्क | २०८० चैत्र १, बिहिबार

डा. अतुल कसजु कन्सल्ट्यान्ट युरोलोजिस्ट, सर्जन हुन् । हाल उहाँ ललितपुर ग्वार्कोस्थित बि एन्ड बि हस्पिटलमा कार्यरत छन् । साथमा उनले मिडाट हस्पिटल र भराेसा हस्पिटलबाट पनि सेवा दिइरहेका छन् ।

उनले मृगौलको पत्थरी, प्रोस्टेटको साथमा युरो डाइनामिक्समा विशेषज्ञता हासिल गरेका छन् ।

युरो डाइनामिक्स अथवा पिसाब थैलीको जाँचको बारेमा विश्वभरीमै हुने एउटै मात्र परिक्षामा सामेल भएर परीक्षामा सफलता हासिल गरेका नेपालका एक मात्र व्यक्ति डा. कसजु हुन् ।

आज १४ मार्च, विश्व मृगौला दिवसको अवसरमा समाचारडेस्कले डा. कसजुसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ । सं.–

नेपालमा अहिले मृगौला स्वास्थ्यको अवस्था कस्तो देखिन्छ ?

मृगौलाको स्वास्थ्य अवस्थाको कुरा गर्दा दुईवटा पक्षबाट हेर्नुपर्ने हुन्छ । एउटा, समग्रमा मृगौलाकै कुरा । संसाभरीमा बढि पत्थर पाइने स्थान, जसलाई स्टोन बेल्ट भनिन्छ, त्यसमा हामी पर्छौं । यसको मतलब नेपालमा पत्थरको समस्या धेरै पाइने गर्छ ।

तर, प्राविधिक सुविधा, समाजमा सचेतनाको कारणले गर्दा पहिलाको जस्तो जटिल प्रकृतीको पत्थर कमै भेटिन्छ । विगतको तुलनामा विरामीहरु समयमै अस्पताल आइपुग्ने गरेका छन् । पहिलाको जस्तो पत्थरीले मृगौला फेल हुने घटना कमै भेटिने गरिन्छ ।

फेरी आजकाल पत्थरीको शल्यक्रिया गर्नलाई चिर्नै पर्छ भन्ने छैन । घाउ एउटै नगरीकन अलिकति पनि दुखाई नभइकन शल्यक्रिया हुन्छ ।

अब अर्को पक्ष भनेको मृगौलामा पिसाबको समस्या । यो चाहिँ निकै बढेको छ । किन बढ्यो भन्ने सवालमा यो प्रत्यक्ष रुपमा उच्च रक्तचाप, मधुमेहसँग सम्वन्धित छ । फेरी मान्छेहरुको बढ्दो उमेरले पनि यसमा असर गरेको हुन्छ ।

समग्रमा हेर्दा राम्रो स्वास्थ्य सेवा पाइने काठमाडौं, पोखरा, चितवन आदि जस्ता शहरी क्षेत्रमा मृगौलाको समस्या धेरै कम भएको देखिन्छ ।

तर अहिले पनि नेपालमा यस्तो कति ठाउँ छ, जहाँ मृगौलाको साधारण उपचार पाउन पनि गार्हो छ । त्यो चाहिँ हामीले स्वीकार गर्नैपर्छ । किनभने सबै ठाउँमा प्रविधि पुगेको छैन ।

फेरी सचेतनाकै कुरा भयो, कति ठाउँमा मृगौलाको स्वास्थ्यको बारेमा सचेतना नै छैन ।

मृगौलाले काम नगर्ने खालका समस्या खासमा के कारणले आउने गर्दछ ?

मैले भख्खरै पनि भनें, एउटा त रक्तचाप, मधुमेह रोग आदि कारणले पनि हुने गर्दछ । अर्को भनेको बढ्दो उमेरको कारणले पनि समस्या हुने गर्दछ ।

अहिले कम उमेरमै मान्छेहरुलाई उच्च रक्तचाप, मधुमेह रोग हुन थालेको छ । खानपान, रहनसहनदेखि लिएर अन्य स्वास्थ्य समस्याको कारणले पनि हुनसक्छ ।

अहिले मृगौला सम्वन्धि समस्या झन् बढेको भन्ने सुनिन्छ । तपाईँले समस्या पहिला जस्तो छैन भन्नुभयो । अवस्था खास कस्तो हो त ?

समस्या बढेको भन्दा पनि अहिले मान्छेहरुले जाँच गर्न थाल्यो र थाहा पायो । पहिला पहिला पनि समस्या त हुन्थ्यो होला, तर मान्छेहरुले थाहै पाएन । कतिले त आफ्नो स्वास्थ्य समस्याको बारेमा थाहै नपाई ज्यान गुमाए पनि होलान् ।

पहिला त मान्छेहरुले थाहा पाए पनि केही गर्न सक्दैनथे । अहिले विकल्प छ । अहिले त मृगौला प्रत्यारोपणसम्म पनि गर्न सकिन्छ । प्रत्यारोपण, डायलासिस लगायतका मृगौलाको स्वास्थ्य सेवा संसारमा जति छ, हाम्रोमा पनि त्यस्तै छ ।

मृगौला फेल भएको अवस्थामा के कस्ता लक्षणहरु देखिन्छन् ?

मृगौला फेल भएको अवस्थामा समस्या भएको मान्छे विहान उठ्ने बेला आँखाको वरिपरि सुन्निएको हुन्छ, सास पनि गन्हाउँछ । अर्को लक्षण भनेको खाना रुच्दैन ।

त्यस्तै पिसाब एकदमै कम भएर जान्छ, लगभग सुन्य बराबरै हुन्छ । दिनभरीमा ६ सय मिलिभन्दा कम पिसाब हुन्छ । चौथो लक्षण भनेको विरामीको तौल घट्न थाल्छ । मान्छे कालो देखिन थाल्छ । यिनै लक्षणहरु देखिन थाल्छ मृगौला फेल भएको अवस्थामा ।

तर यो अवस्थामा समस्या एउटा के पनि हुन्छ भने, सबैमा नै यस्ता लक्षण देखिन्छ भन्ने छैन । कसै कसैलाई लक्षण नदेखिने पनि हुन सक्छ ।

जस्तै कसैको मृगौलामा पत्थरी छ र उसले नदुख्ने औषधी खाइदियो । अब यस्तोमा नदुख्ने औषधीले आफैंले पनि मृगौला बिगार्छ । अर्को भनेको नदुख्ने औषधी खाएपछि दुखाई नै चट्ट हराउँछ । अनि मृगौला विस्तारै बिग्रन्छ र थाहा पनि पाउँदैन ।

यस्तो अवस्थामा विरामी अस्पतालमा ढिलो पुग्ने गर्दछ । अहिले मान्छेहरु सचेत भएकोले यस्तो सम्भावना अहिले धेरै कम छ । अनि सिटी स्क्यान, अल्ट्रासाउन्ड जस्ता प्राविधिक सुविधाहरु पनि छन् ।

मृगौलालाई स्वस्थ राख्न केके गर्नुपर्छ ? के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

मृगौलालाई स्वस्थ राख्नलाई स्वस्थ मान्छे छ भने केही गर्नुपर्दैन । उच्च रक्तचाप छैन, मधुमेह छैन भने खासै आत्तिनुपर्दैन । यदि छ भने नियन्त्रणमा राख्नुपर्यो । चिकित्सकसँग फलो अपमा बसिराख्नुपर्यो ।

प्राय मधुमेह भएको मान्छेले ब्लड सुगर मात्र जाँच्ने गर्छ । तर ब्लड सुगरले थुप्रै अङ्गहरुलाई असर गर्छ भन्ने कुरा बिर्सिनुभएन । यस्तै उच्च रक्तचापले पनि हुनसक्छ ।

एउटा साधारण जाँच मात्र गरे पनि मधुमेह वा उच्च रक्तचापले मृगौलामा छोएको छ छैन थाहा हुन्छ । त्यो जाँच्नको लागि पनि चिकित्सकसँग निरन्तर फलो अपमा बसिराख्नुपर्यो ।

अर्को याद राख्नुपर्ने कुरा भनेको पत्थरी आदि छ वा अन्य कुनै स्वास्थ्य समस्या भने त्यहि अनुसार खानपानमा ध्यान दिनुपर्यो ।

जस्तै पत्थरी भएको मान्छेको लागि स्टोन डायट भन्ने हुन्छ, जुन पत्थरी भएको मान्छेले मात्र फलो गर्ने हो । समस्या अनुसारको डायट प्लान हुन्छ, एउटै प्लान सबैको लागि हुँदैन ।

त्यसैले चिकित्सको परामर्श अनुसार आआफ्नो स्वास्थ्य समस्या अनुसारको डायट प्लानमा जानुपर्यो, स्वस्थ जीवनशैली अपनाउनुपर्यो ।

मृगौला फेल देखिने वित्तिकै प्रत्यारोपण गरिहाल्नुपर्छ ?

प्रायले यस्तै सोचिरहेको हुने रहेृछ । तर कुनै समस्या देखिने वित्तिकै नै मृगौला प्रत्यारोपण गर्नुपर्छ भन्ने छैन । मृगौलाको प्रत्यारोपण गनुपर्छ वा पर्दैन भन्ने कुरा चारवटा कुराहरुमा भर पर्छ ।

एउटा मान्छेको उमेरले पनि यो कुराको निर्णय हुन्छ । धेरै उमेर भएका मान्छेलाई मृगौला प्रत्यारोपण गर्न खोजिन्न । अर्को भनेको मृगौलाको समस्या कुन तहमा पुगेको छ भन्ने हुन्छ । मृगौलाको प्रत्यारोपण ग्रेड ५ पुगेपछि मात्रै गर्ने हो ।

त्यो भन्दा अगाडी विरामीलाई डायलाइसिसमा राखिन्छ । डायलासिस गर्दै विरामी राम्रो अवस्थामा फर्किन पनि सक्छ ।

दुवै मृगौलामा पत्थरी छ र त्यसले मृगौलालाई काम गर्न दिएको छैन भने त्यो पत्थरी निकालेर अवरोध हटाएपछि मृगौलाले फेरी काम गर्न सक्छ ।

यो अवस्थामा सुरुमा मृगौलाले काम त गरेको थिएन नि । तर समयमै आवश्यक शल्यक्रिया वा उपचार भयो भने समस्या समाधान भएर जान सक्छ ।

प्रत्यारोपण गरिहाल्नु परे पनि दाताको मृगौलासँग म्याच हुनुपर्यो । फेरी दाता परिवारबाटै हुनुपर्यो । यसमा कानुनी कुराहरु पनि छन् ।

मधुमेह, उच्च रक्तचापबाट मृगौला फेल भएका मान्छेहरुको भने प्रत्यारोपण गर्नुपर्न सक्छ ।

परिवारमै मृगौला दान लिनुपर्ने भन्ने नियमले दाता पाउन गार्हो हुने, समस्या हुने कुरा पनि आइरहन्छ नि । यस्तो किन हो ?

यो विषय त विश्वव्यापी रुपमै समान छ । चिकित्सकको दृष्टिकोणबाट हेर्ने हो भने परिवार नै किन भन्ने सवालमा बढि जसो परिवारकै अङ्ग मिल्ने भइराखेको हुन्छ । परिवारका सदस्यको अङ्ग मिल्ने सम्भावना बढि हुन्छ ।

अझ जुम्ल्याहा नै छ भने झन राम्रो । नभए, दाजुभाई दिदीबहिनी अथवा रगतको नजिकको नातामा ।

अर्को भनेको कानुनी दृष्टिकोणबाट पनि हो । कसैले पैसा दिएर अङ्गदान लिन खोज्छ । यस्ता कुराहरु रोकथामको लागि पनि परिवार नै चाहिएको हो ।

मृगौला प्रत्यारोपण गरेको मान्छेले पछि सामान्य जीवन यापन गर्न सक्छन् त ?

लगभग सामान्य जीवन नै यापन गर्न सकिन्छ । कति कुरामा भने बन्देज हुन्छ, जुन मृगौला प्रत्यारोपण गरेको मान्छेले याद गर्नुपर्ने हुन्छ ।

डायलासिस त आजकाल अस्पतालमा भर्ना नगरी घरमै गर्ने सिस्टम पनि आइसक्यो । तर समस्या कुन तहमा छ भन्ने कुरा पनि रहन्छ ।

प्रत्यारोपण गर्ने सवालमा त, पूर्व प्रधानमन्त्री केपी ओलीकै उदाहरण लिन सकिन्छ । उहाँले दुईपल्ट मृगौला प्रत्यारोपण गरीसक्नु भयो । उहाँलाई हामी सबैले देखिरहेकै छौं ।

अब सामान्य भन्दा के हो ? उफ्रिने आदि त गर्न भएन तर, सामान्य जीवनमा जस्तै कामहरु गर्न सकिन्छ । क्वालिटी लाइफ बाँच्न सकिन्छ ।

मृगौलाको उपचार निकै महङ्गो छ भन्ने कुराहरु आइरहन्छ । के यो साँचो हो ?

अब तथ्याङ्क नै दिन सक्दिन तर, अवस्था यस्तो छैन । डायलासिस, प्रत्यारोपणको लागि सरकारले नै धेरै सुविधाहरु दिएको छ । डायलासिस त निःशुल्क नै छ ।

प्रत्यारोपणको कुरा गर्दा प्रत्यारोपण भन्दा अगाडी कति जाँचहरु हुन्छ । प्रत्यारोपण पछि आजीवन धेरै थरीका महङ्गो महङ्गो औषधीहरु खानुपर्छ ।

त्यो सबै हिसाबले महङ्गो देखिएला । तर नेपाल सरकारले यसमा पनि सुविधा दिएको छ । ती औषधी पनि सबै लगभग निःशुल्क हुन्छ । र प्रत्यारोपण पनि सरकारबाट दिएको सुविधा लिएर न्यून शुल्कमा गर्न सकिन्छ ।

डायलासिसको लागि धेरै कुर्नुपर्ने, पालो नआउने भन्ने गुनासाहरु सुनिनमा आइरहन्छ नि, के हो ?

यो कुरा नकार्न सकिन्न । डायलासिसको लागि केन्द्रहरु त कम नै छ, जनशक्ति पनि सिमित छ । जस्तै म युरोलोजिस्ट हो, तर म डायलासिस गर्दिन । डायलासिस गर्ने त नेफ्रोलोजिस्टले हो । नेपालमा नेफ्रोलोजिस्ट नै धेरै छैन ।

त्यसमाथि डायलासिस मेसीन, त्यसको मर्मत सम्भार आदिको पनि कुरा रहला ।

सरकारी केन्द्रहरुले सक्दो त गरीरहेको छ । तर सेवालाई आवश्यक मात्रामा विस्तार गर्न नसकिँदा समय त लिने भयो ।

यसमा सरकारले विचार गर्नैपर्छ । निजी अस्पताललाई पनि सुविधा उपलब्ध गराएर डायलासिसमा प्रोत्साहित गरिएमा समस्या धेरै हदसम्म कम हुन सक्छ ।

यसको लागि म नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन यसै समाचारडेस्कबाट अनुरोध गर्दछु । धन्यवाद । 

Categorized in समाज