arin enterprises

जनता समाजवादी नेपाल विभाजित

SamacharDesk | २०८१ बैशाख २४, सोमबार

जनता समाजवादी नेपाल पार्टी विभाजित भएको छ । निर्वाचन आयोगमा पार्टीले ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् ।

सो पार्टीका वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा हिजो अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको जसपामा यादव विदेश भ्रमणमा रहेकै बेला विभाजित भएको हो ।

अध्यक्ष यादवले पार्टीको विधान विपरित काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले जसपा, नेपालमा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरुसँग रहेको दाबी गर्नुभयो ।

उहाँले सरकारलाई समर्थन जारी राख्ने पनि बताउनु भयो । जनता समाजवादी पार्टीकै नाममा नयाँ पार्टी दर्ता गरेको पनि उहाँले बताउनुभयो । जनता समाजवादी पार्टी नेपाल नामको पार्टीबाट नेपाल भन्ने शब्द हटाएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिईएको हो ।

जसपा नेपालका १२ सांसद मध्ये सात जना सांसदको नाम नयाँ पार्टीमा रहेको बुझिएको छ । सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, नवलकिशोर साह, रेणुकुमारी यादव, हसिना खातुन, डा. वीरेन्द्र महतोले राईलाई साथ दिएका छन् ।

नयाँ पार्टीको अध्यक्षमा राई रहेका छन् भने रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ ।

संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन् ।

Categorized in राजनीति