arin enterprises

‘जसपामा कुचाले बढार्नुपर्ने कसिंगर हावाले उडायो’

SamacharDesk – बिराज | २०७९ श्रावण ९, सोमबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता साथै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कुनै पनि राजनीतिक पार्टी वा संगठन विचारबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संगठनलाई विचारको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कुनै व्यक्ति विशेषलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकिने विचार राख्नुभयो ।

जसपा नेपाल काठमाडौं जिल्ला कार्यालयको काठमाडौंको ताम्सीपाखामा समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस कार्यालयलाई पनि पार्टीको वैचारिक राजनीतिक केन्द्रको रुपमा विकास गर्न सुझाव दिनुभयो ।

‘कार्यालय मेच, टेबुल, दराज मात्र भएको ठाउँ होइन, यसलाई पार्टीको वैचारिक राजनीतिक केन्द्रको रुपमा विकास गर्नुपर्छ । पार्टी कार्यालयमा पार्टीको विचार निर्माणसँगै पार्टी संचालनसम्मको काम हुनुपर्छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

जसपा काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले लामो समय अगाडीबाट कार्यालय खोल्नको लागि प्रयासरत रहेको भएपनि लकडाउनसँगै विभिन्न कारणले ढिला भएको जानकारी दिनुभयो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी परित्यागतर्फ इङ्गित गर्दै जिल्ला अध्यक्ष प्रजापतिले भने, ‘कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो । पार्टीले कारवाही गरेर निष्काशन गर्नुपर्ने नेता आफैं पार्टी छोडेर गए, राम्रै भयो ।’

यसै कार्यालयबाट पार्टीको विभिन्न कार्यक्रम, योजनाको साथै आसन्न संघीय चुनावमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको चुनावी प्रचार अभियानलाई पनि अगाडी बढाउने प्रजापतिको भनाई हो ।

कार्यक्रममा जसपा काठमाडौं जिल्ला उपाध्यक्ष श्रीजनमान श्रेष्ठ, नागार्जुन अध्यक्ष अजित पुतुवारलगायतले आआफ्नो विचार राखेका थिए ।

जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य लाल बहादुर तामाङ्ग, आङ्गकाजी शेर्पा, मोहन बराईली, राजन केसी, पन्चलाल महर्जन, राधाकृष्ण महर्जन, लक्ष्मण हुमागाईँ, शोभा बज्राचार्य, अर्जुन लम्साललगायतको उपस्थिति रहेको थियो ।

Categorized in राजनीति