जसपा फुटको संघारमा
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ९, सोमबार

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको बुझिएको छ ।
एमसीसीकै विषयलाई लिएर पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पार्टी फुटाउने मनस्थितीमा रहेको कुरा यस अघि पनि चर्चामा आएको थियो भने अहिले फुटको संघारमै पुगेको स्रोतले बताएको छ ।
पार्टी फुटको यसै विषयसँगै जोडिएर अहिले भने एउटा नयाँ रहस्य प्रकाशमा आएको छ ।
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा रहेका बाबुराम भट्टराईले एमसीसीकै लागि पार्टी फुटाउन लागेको भन्दै गरेको बेला एमसीसीको विरोधमा बोल्दै आएका अशोक राईलाई पनि जसपा पार्टीबाट अलग्याउन खोजेको स्रोतले दावी गरेको छ ।
स्रोतका अनुसार भट्टराईले राईलाई पार्टी अध्यक्ष बनाउने प्रलोभन देखाउँदै राई र राईका समर्थकसमेतलाई जसपा पार्टीबाट अलग्याउन खोजीरहेको दावी गरिएकाे छ ।
पहिचानकै मुद्दा बोक्दै एमालेबाट छुटेर संघीय समाजवादी पार्टी नेपाल खोलेका राईले आफुसँगै पार्टी छोड्न लागेको दावी बाबुराम पक्षधरले गरेका छन् ।
पूर्व संघीय समाजवादी समूहले भने यो कुरामा कुनै सत्यता नभएको र राईले जसपा कुनै हालतमा नछोड्ने र यथास्थितीमा एमसीसीलाई पनि साथ नदिने दावी गरेको छ । विगतमा एमालेमा भएका अवसरलाई छोडेर पहिचानको मुद्दालाई नै प्राथमिकतामा राखेर बसेका नेताले आफ्नो मुद्दा र पार्टी कुनै हालतमा छोड्न नसक्ने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।
यस अघि राईले यथास्थितीमा एमसीसी अनुमोदन गर्न नहुने धारणा राख्दै आएका थिए भने पछिल्लो समय भने यस सम्वन्धि उनले सार्वजनिक रुपमा केही बोलेका छैनन् ।
यसै विषयमा राई र भट्टराईसँग बुझ्न फोन सम्पर्क गर्न खोज्दा नेताद्वय दुवै यो समाचार तयार हुँदासम्म सम्पर्कमा आएका छैनन् ।
यसैबीच जसपा पार्टीले एमसीसीलगायतका विषयमा छलफल गर्नको लागि आउँदो फागुन १३ गते शुक्रबारका दिन केन्द्रीय कार्यकारिणी समितिको वैठक बोलाएको छ ।
Categorized in राजनीति