arin enterprises

ज्याःपुन्हीमा चार सय वर्ष पुरानो सिंहासन प्रदर्शन

SamacharDesk – राम डंगोल | २०८१ आषाढ १०, आइतबार

चन्द्रमानको दिन गणना अनुसार जेष्ठ शुक्ल पुर्णिमाको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।

यस दिन करिब चार सय चार वर्ष अघि राजा सिद्धिनरसिंह मल्लले रचेका ३२ रागको परम्परागत शास्त्रीय संगीत पाटन, कात्ति दवुमा प्रस्तुत गरिने परम्परा रहेको छ ।

यसका साथै पाटनका राजा श्रीनिवास मल्लको ३ सय ५७ वर्ष पुरानो स्वर्ण सिंहासन कृष्ण मन्दिरको प्रांगणमा प्रदर्शन गरिन्छ।

सोही अनुरुप शनिबार  ललितपुरको ऐतिहासिक दरवार क्षेत्र मंगलबजारमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनको लागि कृष्ण मन्दिरको पेटीमा प्रदर्शनी गरिएको थियो ।

सिंहासन पाटन ओकु वहाल बस्ने जोधाजु शाक्यले बौद्ध परम्परा अनुसार सम्यक महादान गरि राजा श्रीनिवास मल्ललाई चढाउनु भएको अभिलेखमा उल्लेख छ।

त्यस्तै राजा सिद्धिनरसिंह मल्लबाट रचित विभिन्न ३२ वटा दाफा भजन पनि गाइएको थियो । यी ३२ वटा दाफा भजनमध्ये केही भजनहरु मेघमल्हार रागमा आधारित रहेको र सो राग गाउँदा पानी पर्ने जनविश्वास रहि आएको छ ।

ज्याःपुन्हीको अवसरमा काभ्रेको पनौतीमा जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष नेपाल संवत् तिथि बमोजिम तछलाथ्व पूर्णिमाको दिन पनौतीमा उन्मत्त भैरव, ईन्द्रेश्वर र भद्रकालीको रथ जात्रा हुँदैआएको छ ।

पनौतीको पुरानो बस्तीमा सन्चालन हुने जात्राको आफ्नै मौलिक, धार्मिक र ऐतिहासिक महत्त्व रहेको छ । जात्राको दौरान उन्मत्त भैरव र भद्रकालीको रथ एकअर्कामा जुधाइन्छ ।

रथ जात्राको क्रममा महादेव र भद्रकालीबीचको प्रेमरस तथा यौनउन्मात प्रदर्शन गरिने बताइन्छ । त्यसो भएकोले रथलाई एकअर्कामा जुधाउने परम्परा रहेको बताइन्छ ।

जात्राको क्रममा रथलाई पनौती नगरका विभिन्न टोलमा परिक्रमा गराउने, रथ र जात्रालुलाई पानीले छ्याप्छन् । ज्याःपुन्हि जात्राको समग्र संस्कार तथा पूजाविधि ९ दिनसम्म हुन्छ ।

किंवदन्ती बमोजिम तत्कालीन समयमा पुण्यमाता खोलामा बाढी आएको बखत पुजारीले खोला तरेर ब्रम्हायणी र भद्रकालीको पूजा गरेको अभिलेख छ ।

पुजारीले बासुकी नागको शरीरमा टेकेर खोला तरेको जनश्रुति रहेको छ । यता, बौद्धमार्गीहरुले ज्याःपुन्हि जात्राकै दिन सिद्धार्थ गौतमले ज्ञानको खोजीमा दरबार त्याग गरेको जनविश्वास रहेको छ ।

Categorized in संस्कृति