कलाकारिता क्षेत्रको विकासमा सक्दो योगदान दिने नगरप्रमुखको प्रतिवद्धता
SamacharDesk – बिराज | २०७७ माघ ६, मंगलबार

मध्यपुर थिमिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाभित्र नयाँ कलाकारहरु देख्दा खुसी लाग्ने गरेको बताउनुभएको छ ।
मध्यपुर थिमिमा आयोजित कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको एउटा पहिचान कलाकारिता भएको र नयाँ पुस्ताले पनि यस पहिचानको गौरव बढाउन योगदान दिएको देख्दा आफुलाई पनि गौरव लाग्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले गायिका कल्पना श्रेष्ठको गीत ‘छंगु लँ स्वइच्वंगु मिखा’ को लोकार्पण गर्नुभयो । सो अवसरमा श्रेष्ठले नगरपालिकाका कलाकारहरुको प्रतिभा उजागर गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
‘कलाकारले कलाकारिता क्षेत्रबाट, खेलाडीले खेल क्षेत्रबाट मध्यपुर थिमिको शिर उँचो बनाएको छ, उहाँहरुको हौसला बढाउनु हामी जनप्रतिनिधिको कर्तव्य हो’ श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले पछिल्लो समयमा नेपालभाषाका म्यूजिक भिडियो एक पछि अर्को गर्दै रिलिज भइरहेको देख्दा खुसी लागेको बताउनुभयो । अहिले नेपालभाषाका म्यूजिक भिडियोहरुको संख्या मात्र नभई गुणस्तर पनि वृद्धि हुँदै गएको विचारर तुलाधरले राख्नुभयो ।
ईलोहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यले आफ्नो संस्थाबाट कलाकारहरुको कला प्रस्फुटन गर्ने विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो ।
गायिका कल्पना श्रेष्ठले आफुले निकै मिहिनेत गरेर गीत तयार गरी दर्शक, श्रोतालाई सुम्पेको बताउनुभयो ।
सार्वजनिक गरिएको गीतमा संगीत विजय कायस्थको रहेको छ भने दर्शनबीर शाक्यले गीत रचना गर्नुका साथै म्यूजिक भिडियोको कथावस्तुको परिकल्पना समेत बनाएका छन् ।
छायाङ्कन र सम्पादन मनोजरत्न शाहीको रहेको छ भने निर्देशन राजन शाहीले गरेका छन् । गीतको भिडियोमा कलाकार रविन्द्र शाही, रेश्मी महर्जन लगायतका कलाकारले अभिनय गरेका छन् ।
Categorized in पेजथ्री