नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नु – प्रहरी महानिरीक्षक कुँवर
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष २७, शुक्रबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न सकेसमाज परिवर्तन सहज हुने विचार राखेका छन् । शुक्रवार नक्सालमा आयोजित एक समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो विचार राखेका छन् ।
‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ शुक्रवार काठमाडौं फोहोर संकलन दौड अभियान भएको हो । अभियानको समारोहमा प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गरे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपाल टेलिकमका प्रवन्धक हरि ढकाल, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले आ–आफनो मन्तव्य राखेका थिए ।
नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरू भएको दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मुल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो ।
दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
दौड अभियानमा नेपाल प्रहरीका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायत विभिन्न महानुभावहरूको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय