‘स्वरोजगारी प्रोत्साहित गर्दै विदेश पलायन निरुत्साहित गर्छु’ – नवनिर्वाचित अध्यक्ष श्रेष्ठ
SamacharDesk – बिराज | २०८० मङ्सिर १७, आइतबार

भक्तपुर चेम्बर अफ कमर्सका नव निर्वाचित कार्यसमितिका अध्यक्ष कविदास श्रेष्ठले स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्दै युवाहरुको विदेश पलायन निरुत्साहित गर्नेतर्फ आफु लाग्ने बताएका छन् ।
भक्तपुर चेम्बरको अध्यक्षमा चयन भए लगत्तै समाचारडेस्कसँग कुरा गर्दै श्रेष्ठले रोजगारका लागि विदेशिनुपर्ने वाध्यताको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनमा आफु लाग्ने भने ।
‘साना तथा मझौला उद्योगतर्फ आवश्यक साथ सहयोग र मार्गदर्शन गर्दै नयाँ उद्यमीहरुलाई प्रोत्साहित गर्नेछु र नयाँ उद्यमीहरुको संख्या बढाउनमा क्रियाशील हुनेछु । स्वदेशमै अवसर देखे को विदेश गइरहन्छ ?’ श्रेष्ठले भने ।
यसको साथसाथमा उद्योग वाणिज्य क्षेत्रमा विद्यमान समस्या समाधानका लागि, उद्यमीहरुको आवाज राज्य तहसम्म पुर्याउन आफु लागिपर्ने पनि श्रेष्ठले भने ।
आइतबार भक्तपुरमा सम्पन्न चेम्बरको अधिवेशनले सर्वसम्मत रुपमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने वैधानिक व्यवस्था अनुसार निवर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित अन्य सबै पदहरुमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, उपाध्यक्ष एसोसिएट्सतर्फ जगतबहादुर श्रेष्ठ, नगर उपाध्यक्षहरुमा राधेसुन्दर साँयजु (भक्तपुर), माधवप्रसाद प्रजापति (सूर्यविनायक), गोकुलप्रसाद प्रजापति (चाँगुनारायण) र चन्द्रभक्त श्रेष्ठ (मध्यपुर थिमि) चयन भए ।
महासचिवको जिम्मेवारी सुरेन्द्र जाकीबन्जारले पाएका छन् भने कोषाध्यक्षमा ज्ञानेन्द्र मानन्धर निर्विरोध चयन भए ।
कार्यसमिति सदस्यहरुमा भने न्हुछेराम धुँख्वाः, विजय हाछेथु, अष्टबज्र बज्राचार्य, पशुपति भुसाल, विक्रम प्रजापति, जीवन मारिखु, नानीबाबु थापा, कुलदीप जीसी, दीपककृष्ण प्रजापति र प्रश्रित भोयद्यो निर्वाचित भएका छन् ।
Categorized in बिजनेस