ftin
arin enterprises

रणजित मल्लको प्रेम कथा म्यूजिक भिडियोमा: भिडियोसहित

SamacharDesk – बिराज | २०८० मङ्सिर १६, शनिबार

भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको प्रेम सम्वन्धको कथामा म्यूजिक भिडियो निर्माण भएको छ । राजा रणजित मल्लको प्रेम सम्वन्धको कथावस्तुमा गायक सत्यनारायण मानन्धरको नेपालभाषाको गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्यूजिक भिडियो निर्माण गरिएको हो ।

गीतमा तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भादगाउँका महाराज रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको हो । म्यूजिक भिडियोमा रणजित मल्लको भूमिकामा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक कर्मा शाक्य देखिएका छन् भने उनको प्रेमिका बृद्धिलक्ष्मीको भूमिकामा रोजिना सुवाल छिन् ।

म्यूजिक भिडियोमा गायक मानन्धर आफैं दरवारीया गायकको रुपमा देखिएका छन् । त्यस्तै गायक लक्ष्मण पलिखेल र कलाकार देवचन्द्र बज्राचार्य वाद्यवादकको रुपमा देखाइएको छ ।

गीतको छायाङ्कन भक्तपुर दरवार क्षेत्रको साथमा भक्तपुरकै पुरानो मौलिक शैली भल्किने विभिन्न ठाउँमा गरिएको छ । रोहिया महर्जनको कोरीयोग्राफी रहेको म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन आकृष्ट शाक्यले गरेका छन् भने निर्देशन विश्वास बज्राचार्यको रहेको छ ।

दुर्गालाल श्रेष्ठको शब्दलाई न्ह्यू बज्राचार्यले संगीत दिएका छन् ।

म्यूजिक भिडियोको गत सोमबार मंसीर ११ गते भक्तपुरमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, गीतकार दुर्गालाल श्रेष्ठ, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, संस्कृति अध्येता ओम धौभडेल, म्युजिक भिडियोकी निर्माता रजनी केसी, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश सायमिलगायतकोसहभागिता थियो ।

गायक मानन्धरले यस अघि पनि मल्ल राजाहरुबाट रचित गीतहरु गाइसकेका छन् । 

Categorized in पेजथ्री