जनयुद्ध प्रधानमन्त्री बन्न र सत्ता कब्जाका लागि मात्रै थियो : केपी ओली
SamacharDesk | २०८० फाल्गुण १, मंगलबार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताउनु भयो । उहाँले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताउनु भयो ।
उहाँले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गर्नुभयो ।
उहाँले हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको बताउनु भयो । उहाँले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रले राजधानीमा जनयुद्ध दिवस मनाएका छन् । गतवर्ष सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछि माओवादी केन्द्रका नेताहरुले अदालतले यस विषयमा पुनःर्विचार गर्नुपर्ने बताएका छन् ।
सरकारले गत वर्ष नेकपा (माओवादी केन्द्र) ले २०५२ साल फागुन १ गते जनयुद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारको सो निर्णयको बिरोध हुँदै आएको थियो । यस वर्ष फागुन १ गते आउनुअघि नै सर्वोच्च अदालतले सो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाएर सार्वजनिक बिदा दिनलाई रोक लगाएको थियो ।
तसर्थ यस वर्ष फागुन १ गते (आज) जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा भएन ।
Categorized in राजनीति