कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १३, सोमबार

आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको हो ।
कृतिपुरमा भएको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । सिंगापुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्यलाई नेपालले २१ बल बाकि रहँदै पुरा गर्यो ।
नेपालको लागि कुशल भुर्तेलले ७४ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । आसिफ शेखले २७ रन, कप्तान रोहित पौडेलले ३५ रन बनाए ।
कुशल मल्लले क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्दै खेल समाप्त गरे । सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए ।
आर्याविर चौधरीले ३७ रन र मनप्रीत सिंहले २४ रनको इनिंस खेल्दा अन्यले खेलाडिले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका लागि अविनाश बोहोराले ३ तथा करन केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरेको हो ।
नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।
समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
Categorized in स्पाेर्ट्स