संसद भवनमा पक्राउ परेका लघुवित्तपीडित ७ दिन हिरासतमा
SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

सोमबार संसद भवन प्रवेश गरी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका लघुवित्त ऋणीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका थिए ।
उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । एक पुरुष र ४८ जना लघुवित्त पीडितहरुलाई हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको हो ।
प्रहरीले शान्ति सुरक्षामा खलल पारेको अभियोगमा अनुसन्धान गर्न उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।
उता, प्रहरी प्रधान कार्यालयले लघुवित्त पीडितहरु संसद् भवनमा प्रवेश गरेको घटनामा संसद भवनको सुरक्षार्थ खटिएका ३२ जनालाई फिर्ता बोलाएको छ ।
प्रहरी निरीक्षकको कमान्डमा खटिएका ३२ जनालाई फिर्ता बोलाएर अर्को टोली पठाइएको हो ।
Categorized in राष्ट्रिय