झापाको एउटा होटलमा आगलागी हुँदा करोडौंको क्षति
SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८० चैत्र २८, बुधबार

झापाको दमकमा एउटा होटलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
दमक नगरपालिका–५ बस्ने प्रेम धिमालको घरमा रहेको स्नेहा होटलमा ईन्भटरको लाईन सर्ट भई मंगलबार बेलुकी आगो लागेको थियो । सो आगो प्रेम धिमाल समेतका ३ वटा घर र नजिकैको लाईफ लाइन अस्पतालमा समेत फैलिएर गएको थियो ।
आगलागीबाट प्रेम धिमालको घर, ३५ तोला सुन, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, फ्रिज २ थान, ईन्भटर, नगद ४ लाख गरी करिब ७९ लाख ९० हजार नोक्सान भएको जनाइएको छ ।
त्यस्तै, सोही ठाउँस्थित रूवी होटल संचालन गरी बस्ने हल्दीबारी गाउँपालिका–५का मेख बहादुर तामाङको घर, भाँडाबर्तन, लत्ताकपडा, फर्निचर, खाद्य तथा पेयपदार्थ, ल्यापटप १ थान, १२ आना सुन, होटलमा रहेको अन्य सरसमानहरु समेत गरी करिब १३ लाख ४० हजार आगलागीमा नष्ट भएको छ ।
त्यसैगरी सोही ठाउँस्थित लाईफ लाईन अस्पतालको डाईलोसिस मेसिन ६ थान, एसी ३ थान, सीसी क्यामेरा १ थान र मेडिकल उपकरण गरी करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
सोही ठाउँ बस्ने रामवती भुजेलको घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
Categorized in समाज