arin enterprises

सम्पदा क्षेत्रलाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ

SamacharDesk – राम डंगोल | २०७९ आषाढ १३, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लगत्तै पदभार ग्रहण गर्नुभएका नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

सोमवार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो ।

उहाँले आफू सांसद भएदेखि शुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताउनु भयो । उहाँले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको पनि बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले दुईवटा निर्णयहरुमा हस्ताक्षर गरेको छु । एउटा उपत्यकाको सांस्कृतिक सम्पदाहरुको ठाउँको रुपमा चिनिन्छ ।

त्यसैले यो ठाउँको महत्वलाई अझ झल्काउने गरी पर्यटकहरुलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँको सम्पदाहरु जोड्ने किसिमबाट ट्रेलहरु निर्माण गर्नको लागि अध्ययन गर्ने विषय छ । हनुमान ढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरु हुन् ।

यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ । त्यो कामलाई प्रारम्भ गर्ने भन्ने अर्को विषय हो । पर्यटक वृद्धिलाई उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ ? यस बारेमा विशेष पहल गर्नेछु ।’

मन्त्री श्रेष्ठले आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Categorized in राष्ट्रिय
SKIP THIS Maharjan Complex