‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग
SamacharDesk | २०८० पौष २६, बिहिबार

सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्स व्यवस्था आवश्यक रहेको नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले बताउनुभएको छ ।
बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताउनु भयो ।
उहाँले बालविवाह,महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुने भएकोले लाइसेन्स अनिवार्य भएको बताउनुभयो ।
लाइसेन्स लिंदा नागरिकता तथा अन्य तथ्यहरु आवश्यक हुने भएकाले वालविवाह तथा नक्कली विवाहबाट बालबालिका तथा युवतीहरुलाई जोगाउन सक्नेमा जोड दिनुभयो ।
उहाँले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताउनु भयो । विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताउनु भयो । उहाँले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताउनु भयो ।
उहाँले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखिकरण दिनुपर्ने बताउनु भयो ।
Categorized in राष्ट्रिय