arin enterprises

लोगो डिजाइन प्रतिस्पर्धा गराउँदै चिकित्सा शिक्षा आयोग

SamacharDesk | २०८० फाल्गुण ४, शुक्रबार

चिकित्सा शिक्षा आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउने भएको छ । आयोगले विहिबार एक सुचना निकाल्दै यस प्रतिस्पर्धाको बारे जानकारी गराएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम सबै काम कारबाहीको लागि छुट्टै लोगो चाहिने भएपछि आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउन लागेको सुचनामा उल्लेख छ ।

यस प्रतिस्पर्धामा जोपनि सहभागी हुन सक्नेछन् । आयोगका अनुसार प्रतिस्पर्धामा पठाउने लोगोमा आयोगको चिनारी र सोच झल्केको हुनुपर्ने बताइएको छ । डिजाइनरले लोगोको कलर आर्टवर्क र ब्ल्याक एन्ड ह्वाइट लाइन आर्ट गरी दुई स्वरूपमा तयार गरि छापा र डिजिटल दुवै प्रति आयोगलाई बुझाउनु पर्ने हुन्छ ।

त्यस्तै रङ, रेखा, आकृति तथा अक्षर सकेसम्म कम प्रयोग गरी सन्देश स्पष्ट भएको हुनुपर्ने पनि आयोगले जनाएको छ । तर पहिल्यै सार्वजनिक भइसकेका वा अन्य संस्थाको लोगो नक्कल गरी पेस भएका डिजाइन भने स्वीकृत हुने छैन ।

पठाइएका लोगोबाट उत्कृष्ट पाँच छान्ने र आवश्यक परेमा डिजाइनरलाई परिमार्जनका लागि विषय विज्ञ तथा आयोगका पदाधिकारीको समितिले आग्रह गर्नेछ ।

त्यसपछि पाँच उत्कृष्ट मध्येबाट सो समितिले एउटालाई अन्तिम डिजाइनको रुपमा छनोट गर्नेछ । छनोट भएका उत्कृष्ट पाँच डिजाइनहरुलाई प्रोत्साहन पुरस्कार र सर्वोत्कृष्ट डिजाइनलाई उचित पुरस्कार तथा कदरपत्र उपलब्ध गराइने आयोगले जनाएको छ ।

इच्छुक डिजाइनरहरुले २ चैतसम्म आयोगको कार्यालय अथवा ईमेल info@mec.gov.np मा पठाउन सक्नेछन् ।

Categorized in राष्ट्रिय