राजदुत डा शाक्यको पहलमा ईजरायलबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आषाढ २४, बिहिबार

ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाउनुभएको स्वास्थ्य सामाग्री तथा उपकरणहरु आज काठमाडौं आइपुगेको छ ।
आज बिहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो ।
इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट उक्त सामग्री सहयोगस्वरुप नेपाल आइपुगेको हो ।
राजदूत डा. शाक्यका अनुसार करीब २० करोड रुपैयाँ बराबरको सामग्री नेपाल पठाइएको छ ।
ती सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, मोबाईल कोरोना टेष्टिंग ल्याबका उपकरणहरु, औषधि, पिसिआर तथा एन्टीजेन टेष्टिंग किट, पीपीई, थर्मल गन लगायत रहेका छन् ।
क्याप्टेन विजय लामाको नेतृत्वको टिमले नेपाल एअरलाईन्सको एअरबस ३३२ पहिलो पटक टेल अभिभको बेन गुरियन इन्टरनेशनल एअरपोर्टमा अवतरण गराएका हुन् ।
नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न मन्डे डट कम नामक संस्थाले सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताउनु भयो ।
‘ईजरायलमा यूद्ध चलिरहेको र अस्थायी यूद्धविराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ । यस्तो प्रतिकुल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ’ डा. शाक्यले भन्नुभयो ।
विश्व महामारीको अवस्थामा पहिलो ‘मास्क फ्रि’ देशका रुपमा ईजरायलले घोषणा गरेको थियो । ईजरायलमा कोरोना करीब पूर्ण नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाउनु नपर्ने अवस्था बनिसकेको छ ।
Categorized in राष्ट्रिय