arin enterprises

मेलम्चीको पानी आउने भयो

SamacharDesk | २०८० पौष २७, शुक्रबार

मेलम्चीको खानेपानी काठमाडौं पठाउन सुरु गरिएको छ ।

गत असारमा मेलम्चीको नदीको माथिल्लो क्षेत्रमा आएको लेदोसहितको बाढी, पहिरोका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने बताइएको छ ।

त्यसको लागि सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको हो । अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनकाअनुसार अहिले प्रतिसेकेन्ड ६०० लिटर पानी पठाएर सुरूङ सफा गरिँदैछ।

लेदोसहितको फोहोर पानी ग्याल्थुम, सिन्धुखोला अडिट र सुन्दरीजलतर्फबाट निकालिने पन्तले बताए। सुरूङबाट सफा पानी बग्न थालेपछि प्रतिसेकेन्ड दुई हजार लिटर पानी पठाउन सुरू गरिने आयोजनाले जनाएको छ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको जनाइएको छ । आयोजनाका अनुसार अहिले काठमाडौंमा अस्थायी तवरले पानी ल्याउन लागिएको हो।

स्थायी तरिकाले पानी ल्याउन सुरूङको मुखमा बाँध बनाउनुपर्ने हुन्छ। अहिले बाढीले तहसनहस बनाएको बाँध क्षेत्र, झन्डै एक दर्जनजति गेटहरू नखोतली सिधै सुरूमा खोला हालेर पानी ल्याइएको छ।

सहायक सुरूङमार्फत् हालिएको पानी मुख्य सुरूङसम्म पुगोस् भनेर बीचमा ठूलो पाइप प्रयोग गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ।

Categorized in राष्ट्रिय