सरकार र मिटरव्याजपीडितबीचको वार्ता विथोलियो
SamacharDesk | २०८० फाल्गुण १४, सोमबार

पैदल यात्रा गरेरै काठमाडौं आइपुगेका मिटरब्यजी पीडित र सरकारको सोमवार हुने भनेको वार्ता थिोलिएको छ ।
गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो ।
सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो ।
मेची – महाकाली हुँदै २५ दिनसम्म पैदल हिँडेर शुक्रवार काठमाडौं छिरेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको थियो ।
गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो ।
दुवै पक्षले एकअर्काको कुरा सुनेपछि सोमबार बिहान ११ बजे फेरि बैठक बस्ने गरी छलफल टुंगिएको थियो । तर, वार्ताका लागि जानुअघि नै पीडितलाई लखेट्ने प्रयास भएकाले वार्तामा आफूहरु नभएको नवीनले बताए ।
प्रहरीले सामान उठाउने तयारी गरेपछि सोमबार शहीद गेट–न्यूरोड हुँदै रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म खाली खुट्टा मार्च गर्ने कार्यक्रम छाडेर भृकुटीमण्डपमै बसिरहेका छन् ।
मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।
यता सरकारले मिटरब्याजी पीडितहरुले आफ्नो माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् ।
आईतवार काठमाडौंमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् ।
उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे ।
पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए ।
उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे ।
Categorized in राष्ट्रिय