arin enterprises

नेवार समुदायले मनाउने म्ह: अर्थात् आत्म पूजा

SamacharDesk – राम डंगोल | २०८० कार्तिक २८, मंगलबार

उपत्यका लगायत देशभरका नेवार समुदायहरुले म्हपूजा (आफूले आफैलाई गर्ने पूजा) मनाउँदैछन् ।

म्हपूजा स्वन्ति नखः र नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो ।

यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गर्दछन् । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पूजा गरिन्छ ।

म्हपूजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हपूजाका लागि परिवारको सबै भन्दा जेठी सदस्य नकिंले पूजा अघि सारी आफ्नो आफै पूजा गर्न लगाइन्छ ।

नेपाल भाषामा म्ह भनेको शरीर हो, आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ ।

समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

अहिले नेपालमा मात्र यो पर्व सीमित नरही विदेशमा वसेका नेपाली तथा विदेशीहरूले पनि यस म्हपूजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुइँमा परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल बनाइन्छ ।

यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुइ वटा थप मण्डल देवताका लागि बनाइन्छ ।

पञ्चतत्वको प्रतिकको रूपमा क्रमशः आखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) राखी मण्डल तयार पारिन्छ । र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी बस्दछ । परिवारको सबैभन्दा जेठी सदस्यले शुरूमा सुकुण्डालाई पुजा गरी सवै मण्डलहरू पूजा गर्दछ ।

तत्पश्चात् सबैलाई धौ सगँ (दहिको सगुन) दिइन्छ । त्यसपछि सबैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ ।

बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी सदस्यले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिर्इ जाँड वा रक्सी तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड वा रक्सी थप्दा कचौरा भुइँमा राख्नु हुँदैन ।

तत्पश्चात मण्डपमा माथि भोजका थाली राखी सबै परिवारका साथ खाइन्छ ।

Categorized in बिचार