arin enterprises

संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलाे रहेकाे मन्त्री बज्राचार्यकाे दावी

SamacharDesk – बिराज | २०८० चैत्र २०, मंगलबार

बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् ।

आज मंगलबार पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार पुगेका मन्त्री बज्राचार्यले यस्तो भनेका हुन् ।

सो अवसरमा उपस्थित रत्नाकर महाविहारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग कुरा गर्दै मन्त्री बज्राचार्यले जीर्ण अवस्थामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको दायित्व बागमति प्रदेश सरकारले लिने बताए ।

‘विगतमा बहाःबही, मठ, मन्दिर लगायतका सम्पदाको पुनर्निमाणको नाममा बजेट खर्च भएको तर, सम्पदा भने जीर्णै अवस्थामा रहेको देखियो । अब यस्तो हुँदैन । अब म आफैंले निरिक्षण गर्नेछु र बजेट सहि ठाउँमा सदुपयोग भई हाम्रा सम्पदाहरु गर्वले ठडिनेछन्’ मन्त्री बज्राचार्यको भनाई हो ।

साथमा मन्त्री बज्राचार्यले संघीयता निकै खर्चिलो र राज्यको लागि बोझ भयो भन्ने भ्रम चिर्नको लागि आम जन समुदायमा आग्रह गरे ।

संघीयताको मर्म र अर्थ नबुझेर भ्रम सिर्जना भएको भन्दै संघीयतालाई सहि दिशामा डोर्‍याएर वास्तविक संघीयता समाजलाई दिनुपर्ने विचार उनले राखे ।

‘अहिले संघीय वा प्रदेश सभासदहरुमा जति खर्च भइरहेको छ, विगतमा राजाको पालामा दरवारका कर्मचारीहरुको तलबमा त्यसको तीन गुणा, चार गुणा खर्च हुन्थ्यो । संघीयता खर्चिलो हैन, विगतको तुलनामा किफायती छ’ मन्त्री बज्राचार्यको दावी हो ।

हाल बागमति प्रदेशमा मात्रै ६ लाख उद्योग दर्ता रहेको तथ्याङ्क सुनाउँदै बज्राचार्यले संघीयतामा उद्योग, कलकारखाना बन्द भएको नभई राजतन्त्रमै बन्द भएको वा बन्द हुने वातावरण बनेको दावी पनि गरे ।

सोही अवसरमा रत्नाकर महाविहारबाट मन्त्री बज्राचार्यलाई कार्यकाल सफलताको कामनासहित नेवार परम्परा अनुसार सगुन दिइएको थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, रत्नाकर सहकारीका अध्यक्ष करुणारत्न बज्राचार्यले लामाे समयदेखि स्थानीय संस्कृति, सम्पदाकाे संरक्षण, सम्वर्ध्दनमा सक्रिय  व्यक्ति नै अहिले वागमति प्रदेशकाे संस्कृति मन्त्री हुँदा धेरै आशा जागेको बताए । 

उज्वतदेव महाविहारका पूर्व अध्यक्ष रमेशराज बज्राचार्य, रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्य लगायतले समाजसँग सल्लाह आदानप्रदान र छलफल गर्दै अगाडी बढ्न मन्त्री बज्राचार्यलाई सुझाव दिएका थिए ।

औपचारिक कार्यक्रम पछि मन्त्री बज्राचार्यले पुनर्निर्माणको क्रममा रहेको रत्नाकर महाविहारका संरचनाहरुको अवलोकन गरेका थिए ।

बज्राचार्यले आजै काठमाडौं वसन्तपुरका लायकू कुमारी र भक्तपुरका कुमारीको पनि दर्शन गरी आशिर्वाद थापेका छन् ।

Categorized in राजनीति