arin enterprises

अनुभव पाउने गरी काम गर्ने मन्त्री बज्राचार्यको प्रतिवद्धता

SamacharDesk – बिराज | २०८० चैत्र १९, सोमबार

वागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले प्राथमिकताका आधारमा अब युद्धस्तरमा कार्यक्षेत्रमा लाग्ने बताएका छन् ।

बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले समाचारडेस्कसँग कुरा गर्दै यस्तो भनेका हुन् ।

‘गर्नुपर्ने कामहरु धेरै छन् । सबै काम र योजनालाई प्राथमिकताका आधारमा अगाडी बढाउँदै सबैले अनुभव पाउने गरी नतिजासम्म पुर्‍याउनेछु’ मन्त्री बज्राचार्यको भनाई हो ।

सर्वप्रथम भाषा विधेयकलाई कार्यान्वयनमा लैजान आफ्नो भूमिका रहने बज्राचार्यले भने ।

गत असोज २२ गतेको बागमति प्रदेश सभाको वैठकबाट प्रदेशमा सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको थियो ।

जुन विधेयकले बागमति प्रदेशको सरकारी कामकाजमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गर्न बाटो खोलेको छ ।

‘भाषा विधेयक पारित भइसकेको अवस्थामा अब यसलाई कार्यान्वयनमा लग्ने जिम्मेवारी मेरो काँधमा आएको छ । प्रभावकारी रुपमा भाषा विधेयक कार्यान्वयनमा लग्न मेरो भूमिका रहनेछ’ मन्त्री बज्राचार्यले योजना सुनाउँदै भने ।

अहिले आम नागरिकले सहकारी सम्वन्धमा ठुलै समस्या भोगिरहेको अवस्थामा सबैले अनुभव पाउने गरी यस समस्याको समाधान दिने प्रतिवद्धता पनि बज्राचार्यले व्यक्त गरे ।

यहाँको जात्रापर्व, मूर्त अमूर्त संस्कृतिको संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दनमा अब बागमति प्रदेश सरकारको सशक्त उपस्थिती रहने बज्राचार्यले भने ।

‘हाम्रो पहिचान भनेकै स्थानीय संस्कृति जात्रापर्व हो र यसको संरक्षणको दायित्व प्रदेश सरकारको पनि हो । अब स्थानीय जात्रापर्व, संस्कृतिको संरक्षण प्रवद्र्धनमा बागमति प्रदेश सरकारको प्रत्यक्ष र सशक्त उपस्थिती रहनेछ’ बज्राचार्यले अर्को योजना सुनाए ।

देशको आर्थिक उपार्जनको एउटा मुख्य आधार पर्यटन भएको हुँदा यहाँका १३ जिल्लाका पर्यटकिय गन्तव्यको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन ठोस योजना ल्याउने पनि उनले भनेका छन् ।

आफुलाई बधाई, शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै बज्राचार्यले अहिल्यै बधाई खाइहाल्ने समय आइनसकेको र नतिजा दिएरै मात्र बधाई खाने भनेका छन् । 

Categorized in राजनीति