अमेरिकी सदनमा प्रधानमन्त्री मोदी
SamacharDesk | २०८० आषाढ ८, शुक्रबार

अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ ।
गएराती सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ हुने बताउनुभयो ।
अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै उहाँले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने घोषणा पनि गर्नुभयो ।
अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार बनेको भन्दै मोदीले आतंकवाद विरुद्धको लडाईमा कुनै सम्झौता हुदैन भन्नुभयो । भारत अघि बढ्दा विश्व नै अघि बढ्ने भन्दै रुस युक्रेन युद्धले विश्वलाई नै पीडा दिएको बताउनुभयो ।
रुस–युक्रेन युद्धबाट मोदीले यो भन्दा बढी टिप्पणी भने गर्न चाहनु भएन । चीन र पाकिस्तानप्रति सीधा टिप्पणी नगरे पनि मोदीले हिन्द प्रशान्त क्षेत्रमा टकरावको कालो बादल मडारिन थालेको बताउनुभयो ।
मोदीले वैठकलाई सम्बोधन गरिरहँदा संसद तालीले गुञ्जायमान भएको थियो । दर्शकदीर्घाबाट “मोदी मोदी” भन्दै प्रशंसा गरिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय