arin enterprises

ललितपुरमा लिच्छविकालिन मूछेँ आगमको पुनर्निर्माण सुरु

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १५, बिहिबार

ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण आजबाट सुरु भएको छ । आगममै गुठियारहरुबाट आज क्षमापूजा गर्दै पुनर्निर्माण कार्यको विधिवत शुरुवात गरिएको हो ।

क्षमा पूजामा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईराला यजमान भई पूजा कार्य सम्पन्न गरेका थिए । मुख्य पूजा मूछेँ आगमका ज्येष्ठ गुठीयारको अनुपस्थितिमा दोश्रो ज्येष्ठ (न्वकू) गुठीयार घनश्याम शर्माले गर्नुभएको थियो ।

आज क्षमा पूजा सम्पन्न भएसँगै मूछेँ आगम पुनर्निमाणको विधिवत शुरुवात भएको छ । 

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको पुनर्निमाणको जिम्मा काठमाण्डौँ उपत्यका संरक्षण कोष (के.भि.पि.टी.) ले पाएको छ । 

पुरातत्व विभाग, गुठी संस्थान ललितपुर र मंगल टोल सुधार संघको सहयोगमा पुनर्निर्माणको काम हुने मूछेँ आगम व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पाटनका ८ मणि मध्ये एक मानिने यस मूछेँ आगम घरको ऐतिहासिक नाम मणिछेँ रहेको छ ।

किम्बदन्ती अनुसार यो आगम घर मानदेवका पिता धर्मदेवको शासनकालमा निर्माण भएको हो । तर हालको बाहिरी स्वरुप भने मल्लकालिन हो । 

यहाँबाट लिच्छविकालिन पर्वहरु समेत सञ्चालन गर्नुपर्ने बताइएको छ ।

यहाँको नित्यपूजा काठमाडौं उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुले गर्दै आएका छन् ।

यहि आगमबाट ऐतिहासिक मनमानेश्वरीको जात्रा पनि हुने गर्दछ । मनमानेश्वरीलाई मानदेवको ईष्टदेवीको रुपमा लिइन्छ । 

मूछेँ आगमलाई प्राथमिकतामा राखी पुनर्निमाण सकाउने र त्यसपछि मन्मानेश्वरीको मन्दिर निर्माण गरिने पुनर्निर्माण समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठको भनाई छ ।

मन्मानेश्वरी देवीको ३ तल्ले प्यागोडा शैलीको मन्दिर पहिला देगु तलेजु र तलेजु मन्दिर बीच भागमा रहेको थियो । यो भागमा हाल कौसी रहेको छ । 

९० सालको महाभूकम्पमा मन्दिर पूर्णरुपमा क्षति भएपछि देवीलाई पूजारीको आगममा राख्न ल्याइएको मूछेँ आगमका पूजारी शिवश्याम शर्माले बताउनुभयो ।

Categorized in समाज