चलचित्र ‘नभ्य’ को टीजर सार्वजनिक
SamacharDesk – बिराज | २०८१ फाल्गुण १७, शनिबार

लुःजः इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘नभ्य’ को टीजर सार्वजनिक भएको छ ।
लुःजः इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत उक्त चलचित्रको १ः१६ मिनेटको टीजर सार्वजनिक भएको हो । लामो समयदेखि प्रतिक्षामा रहेको उक्त चलचित्रको टीजर हाल आएर मात्र सार्वजनिक गरिएको हो ।
राम्रो चलचित्र बनाउन केही समय लागेको र आफ्नै केही व्यक्तिगत समस्याका कारणले पनि चलचित्र केही ढिला हुन गएको चलचित्रका निर्माता साथै निर्देशक लुःजः सिंहले बताए ।
‘राम्रो चलचित्र बनाउन केही बढि समय पनि लिएको हो र यस बीच मलाई केही व्यक्तिगत समस्याहरु आइपर्दा पनि चलचित्र ढिला हुन गयो । अब चाँडै प्रदर्शन गर्ने तयारीमा छु’ निर्माता निर्देशक सिंहले भने ।
हाल सार्वजनिक भएको टीजर आब्सट्राक्ट किसिमको छ । आउँदो चैत्र १ गते चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारीमा आफु रहेको सिंहले बताए ।
‘सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । टीजर हेरेर चलचित्रको कथावस्तु बुझ्न गार्हो होला । अब ट्रेलर आउँदैछ, त्यसबाट चलचित्रको कथावस्तु केही बुझ्न सकिएला’ सिंहले थपे ।
नयाँ वर्षको अवसर पारेर चलचित्र पनि चाँडै नै रिलिज गर्ने तयारी भइरहेको जानकारी सिंहले दिए ।
चलचित्रमा आशिष्मा नकर्मी, प्रेक्षा अधिकारी, प्रशन्न गोपाली, विकास न्यौपाने, अभिनव अर्याल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
निर्माता निर्देशक सिंहको साथमा विप्लव पोखरेलले कथा लेखेका छन् । निर्देशन पनि सिंह र पोखरेलकै रहेको छ ।
सुमन कपालीले संगीत दिएको गीतहरुमा गायिका रीमा गुरुङ र संगीतकार कपालीकै स्वर रहेको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित सिरियल ‘कथा प्रेमका’ र संगीता श्रेष्ठबाट निर्देशित चलचित्र ‘कथा काठमाडौं’ का छायाँकार लुःजः सिंहको निर्देशनमा बनेको यो चलचित्र अहिले धेरैको प्रतिक्षामा रहेको छ ।
Categorized in पेजथ्री