‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण
SamacharDesk | २०८० चैत्र १३, मंगलबार

नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् एक साथ प्रयोग गर्न मिल्ने सफ्टवेयर सरकारलाई हस्तान्तरण गरिएको छ ।
हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा एक कार्यक्रमबीच नेपाल संवत्को ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ हस्तान्तरण गरिएको हो ।
उक्त एप राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको हो । सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट पनि एकसाथ प्रयोग गर्न सकिने जनाइएको छ ।
यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताउनुभएको छ ।
हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धेरै मेहनत गरेर नेपाल संवत, विक्रम संवत, ईस्वी संवत्लाई पनि सहजै रुपान्तरण गर्न सकिने र अनन्तकालसम्म प्रयोगमा ल्याउन सकिने काम भएको बताउनु भयो । उहाँले नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले पहिलो पटक नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गर्ने निर्णय गराउने मन्त्रीपरिषद्को नेतृत्व पनि मैले गरेको थिएँ ।
अहिले फेरि नेपाल संवतलाई सरकारी कामकाजी दस्ताबेजहरुमा लेखेर लैजाने भन्ने निर्णय पनि तपाईंहरुकै प्रेरणाले गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र स्थापना पछि एउटा सकारात्मक वातावरण बनेको छ ।
अब कम्प्लेक्स ठानिएको रुपान्तरणको कुरालाई पनि तपाईहरुले सरल बनाएर ल्याउनुभयो । मैले त आफैँले निर्णय गरेको हुनाले यसलाई अझ व्यवस्थित बनाइ राम्रोसँग लागू गरेर जाओस् भन्ने नै हो ।’
Categorized in राष्ट्रिय