arin enterprises

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

SamacharDesk | २०८० कार्तिक १४, मंगलबार

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । तर दुई कुशलले विस्फोटक ब्याटिङ गरेपछि नेपालले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा १६६ रन बनाएर लक्ष्य हासिल गर्योि ।

मल्लले मात्र ३४ बलमा सर्वाधिक ६५ रन बनाउनुभयो । उहाँको पालिमा सात छक्का र दुई चौका सामेल थियो । १९ वर्षीय मल्लले म्यान अफ दि म्याच बनेर ५० हजार रुपियाँ पनि प्राप्त गर्नुभयो । प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले २५ बलमा चार चौका र चार छक्कासहित ४३ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए । पहिलो खेलमा नेपालले हिजो सोमवार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो ।

समूह ’ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ ।

यी दुई टिमबिच बिहीबार हुने भिडन्तले समूह ए विजेताको छिनोफानो गर्नेछ । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

यसअघि आजै भएका अन्य खेलमा ओमान र बहराइन विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।

Categorized in स्पाेर्ट्स