arin enterprises

सरकारकै कारण संक्रमण फैलिएको काँग्रेसको दावी

SamacharDesk – बिराज | २०७८ बैशाख १७, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान ओली सरकारले नेपालमा कोरोना संक्रमण रोक्नका लागि कुनै ठोस काम नगरेको आरोप लगाएको छ ।

आज आयोजना गरिएको नेपाली काँग्रेसको पत्रकार सम्मेलनमा बोल्दै सभापति शेरबहादुर देउवाले ओली सरकार अधुरा कामलाई नै पुरा भएको भन्दै उद्घाटन गर्दै भिडभाड गर्दै हिँडेको दाबी गर्नुभयो ।

‘यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ, न नेपाली काँग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ’ देउवाले भने ।

वर्तमान सरकारको अकर्मन्यता, चरम लापरवाही र असंवेदनशीलताकै कारणले लकडाउन गर्नुपर्ने स्थिती आएको देउवाले भने ।

सरकारकै कारण अहिले संक्रमित नभएका वा कम भएका जिल्लामासमेत संक्रमण फैलिएको नेपाली काँग्रेसको निष्कर्ष छ ।

‘सरकारले काठमाडौं उपत्यका लगायत ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरेपछि कोभिड १९ परिक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेका छन्’ पत्रकार सम्मेलन पछि जारी गरिएको प्रेस विज्ञप्तीमा लेखिएको छ ।

संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाउनका लागि नेपाली काँग्रेसले माग गरेको छ । साथै लकडाउनको समयलाई सदुपयोग गरी संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाउन ११ बुँदे माग पनि अघि सारेका छ ।

नेपाली काँग्रेसले अक्सिजन र भेन्टिलेटरको यथेस्ट आपूर्ति, अस्पताल, आइसीयू लगायत स्वास्थ्य सामग्रीको समुचित व्यवस्था, सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण लगायतका माग काँग्रेसले अघि सारेको छ ।

साथमा, केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील गर्ने, उपचारको पहुँचमा पुग्न समस्या भएकाहरुलाई हरसम्भव सहयोग गर्ने, आर्थिक समस्या हुनेहरुलाई विगतमा जस्तै अभियान संचालन गर्ने र विकसित मित्र राष्ट्रहरुलाई खोप सहयोग गर्न अनुरोध गर्ने लगायतका प्रतिवद्धता पनि काँग्रेसले व्यक्त गरेको छ । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082