arin enterprises

नवनियुक्त मन्त्रिमण्डलको राष्ट्रपतिबाट शपथ ग्रहण

SamacharDesk | २०८० फाल्गुण २३, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भवन सितल निवासमा तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

नवनियुक्त मन्त्रिमण्डलमा माओवादीका तीन जना मन्त्रीहरु यसअघिको सरकारको पालाका पुरानै अनुहार दोहोरिएका छन् भने बाँकी नयाँ अनुहारका मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले यसअघि शपथ लिइसक्नुभएको छ।

यसैगरी, नेकपा (एमाले)का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिम्मेवारी सम्हाल्नु हुनेछ ।

यस्तै, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी,  रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिइसक्नुभएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि शपथ लिइसक्नुभएको छ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

Categorized in राष्ट्रिय