arin enterprises

‘किसानलाई रोपाईँ गर्नमा रोक्नुहुन्न’ – सांसद शाक्य

SamacharDesk – विकाश | २०७७ आषाढ २५, बिहिबार

बागमति प्रदेशका सांसद राजेश शाक्यले किसानलाई रोपाईँ गर्नमा अवरोध गर्न नहुने बताउनु भएको छ ।

खोकनामा किसानले रोपाईँ गर्न खोज्दा प्रहरीबाट भएको दमनबारे बोल्दै सांसद शाक्यले राज्यले जग्गा नै नगरेको अवस्थामा किसानलाई रोपाईँ गर्नका लागि रोक्न नहुने बताउनुभयो ।

गत असार १५ गते र २० गते खोकनाका किसानहरुले काठमाडौं निजगढ जोड्ने फास्ट ट्र््याकको जिरो प्वाइन्ट भनिएको खोकनाको खुदोल क्षेत्रमा रोपाईँ गर्न खोज्दा प्रहरीले रोकेको थियो ।

रोपाईँ गर्नबाट रोक्ने क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै दर्जन बढि सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

सो सन्दर्भमा सांसद शाक्यले कृषि प्रधान देशमा किसानलाई कृषि पेशामा प्रोत्साहित गर्नुपर्नेमा यस किसिमले दमन हुनु र रोपाईँ गर्नबाट रोकिनु दुःखद भएको बताउनुभयो ।

समाचारडेस्कसँगको कुराकानीमा शाक्यले उक्त जग्गाहरुमा फास्ट ट्र्याकको जिरो प्वाइन्ट बन्ने वा कुनै विकास निर्माणका योजना नै भएपनि पहिला प्रक्रिया पूरा गरेर जग्गा प्राप्ति गर्नुपर्ने र त्यसपछि मात्र किसानको हक समाप्त हुने धारणा राख्नुभयो ।

‘सबभन्दा पहिले त्यहाँका किसानलाई खुसी र सन्तुष्ट बनाइनुपर्यो, प्रक्रिया पूरा गरी मुआब्जा उपलब्ध गराइ जग्गा प्राप्ति गर्नुपर्यो’, सांसद शाक्यको भनाई थियो । ‘किसानलाई मुआब्जा उपलब्ध नगराइ, जग्गा प्राप्ति पनि नगरेको अवस्थामा यसरी बल प्रयोग गरेर रोपाईँ गर्नबाट रोक्न मिल्दैन ।’

स्थानीय जनतालाई मर्कामा पारेर विकास हुन नसक्ने भन्दै शाक्यले असन्तुष्ट पक्षसँग वार्तामा बसी उनीहरुको मागको पनि सम्वोधन हुनुपर्नेमा शाक्यले जोड दिनुभयो ।

 

यो पनि हेर्नुहोला – 

खेतमा धान रोप्दा प्रहरीले हाने अश्रुग्याँस

खोकनाको रोपाईँ – फोटो फिचर

 

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082