‘सकड बटुवाको लागि हो, पसल थाप्न होइन’
SamacharDesk – बिराज | २०७७ श्रावण १३, मंगलबार

असन, काठमाडौंको मुटु नै मानिन्छ । विगतमा यहाँ सवारी साधन गुड्नको त कुरै छोडौं, मान्छे हिँड्नसम्म पनि गार्हो हुने गथ्र्यो ।
अहिले असन खुल्ला छ । यहाँ हिँड्न त नाच्नको लागि पनि मनग्य ठाउँ छ ।
अहिले जागरुक युवा समूहको सक्रियतामा यहाँका फुटपथा पसलहरु हटाउने काम निरन्तर भइरहेको छ ।
स्थानीय यूवा र यहाँका वडाका जनप्रतिनिधिहरु संलग्न रहेको जागरुक यूवा समूहमा काठमाडौं महानगरापालिका वडा २४ का वडा सदस्य साथै समाजसेवी विनोद तुलाधर पनि रहेका छन् ।
उनको परिचय दिनुपर्दा वडासदस्य मात्र भनेर अपुग नै होला । निकै लामो समयदेखि समाजसेवामा सक्रिय उनलाई धेरैले चिन्ने एक समाजसेवीकै रुपमा हो ।
समाजसेवामा त उनी निकै लामो समयदेखि लागिरहेका छन् ।
महादेव मखन क्लबबाट मखनमा हुने साँस्कृतिक गतिविधिहरुको साथै दशैं, तीज, शिवरात्री लगायतका चाडपर्वमा व्यवस्थापन, सरसफाई आदिमा उनी लागिरहन्छन् ।
ब्लड डोनर्स एशोसिएसन नेपालमा समेत आवद्ध उनी रक्तदान कार्यक्रमहरु गरिरहन्छन् भने कसैलाई रगतको आवश्यकता परे राती नै कुदिहाल्छन् ।
यस्तै अन्य विभिन्न खालका सामाजिक गतिविधिहरुमा उनी सक्रिय रहेका छन् ।
उनको रुचिको विषय भनेको फोटो पत्रकारिता पनि हो । एक समय सक्रिय फोटो पत्रकारितामा विताएका उनी अहिले पनि क्यामेरा बोकेर रिपोर्टिङमा निस्किने गरेका छन् ।
त्यो बेला फुटपाथ पसलहरु नहुँदा गुंलामा धाःबाजा बजाउँदै स्वयम्भु जानेहरुलाई निकै सुविधा भएको थियो, मखनमा एउटा घरमा आगलागी हुँदा दमकललाई जामको सामना गर्नुपरेको थिएन
अचेल भने उनी दिनहुँ विहान र साँझ निस्कन्छन् जागरुक यूवा समूहका साथीहरुसँग, फुटपाथ पसल हटाउन ।
उनले यो भन्दा अघि पनि फुटपाथ पसल हटाउ अभियान चलाइसके । २०७२ सालमा पनि उनले यसरी नै फुटपाथ पसल हटाउ अभियान चलाएका थिए ।
त्यो बेला त्यो अभियान चलाउने समूह कान्तिपुर विकास समितिका सचिव थिए उनी । त्यो बेला पनि समितिका साथीहरुसँग हरेक विहान र हरेक साँझ फुटपाथ पसलहरु हटाउनका लागि निस्कन्थे ।
त्यसकै बीच स्थानीय तहको निर्वाचन आयो र उनले पनि २४ वडामा वडा सदस्यमा उम्मेदवारी दिए । चुनावका कारण त्यो अभियानले विश्राम लियो भने फुटपाथ व्यापारीहरु सक्रिय हुन थाले ।
त्यो समय सम्झिन्छन् उनी, ‘त्यो बेला फुटपाथ पसलहरु नहुँदा गुंलामा धाःबाजा बजाउँदै स्वयम्भु जानेहरुलाई निकै सुविधा भएको थियो, मखनमा एउटा घरमा आगलागी हुँदा दमकललाई जामको सामना गर्नुपरेको थिएन ।’
यहि परिस्थिती कायम होस् भन्ने उनको चाहना रहेको तर बीचमा अभियानलाई छोड्नुपरेको उनी सम्झिन्छन ।
चुनाव जितेर उनले फेरी जनप्रतिनिधिको रुपमा यो अभियानलाई निरन्तरता दिन त खोजे तर २४ वडाको जनप्रतिनिधि भएपछि उनको कार्यक्षेत्र २४ वडाभित्रै सिमित बन्यो ।
माइकिङ गर्ने, ठाउँठाउँमा ब्यानर झुन्ड्याउने आदि गर्दै सचेतना जगाउने काम पनि गरे । तर नतिजा भने आशा गरिए जस्तो आइरहेको थिएन ।
फुटपाथ पसल हटाउ अभियानमा लागिरहँदा उनलाई निकै धम्कीहरु आए । एक पटक त राती नै फुटपाथ व्यापारीहरुले उनको घरै घेर्न समेत आए ।
‘समाजको लागि केही गर्र्छु भनेर लागेको छु, त्यस्तो धम्कीबाट डराएर बसिन्न’ तुलाधरले भने । ‘फुटपाथ पसल थाप्नको लागि होइन, बटुवाको लागि हो । फुटपाथ पसल निर्मूलै गरीन्छ ।’
२४ वडाभित्र मात्र यो अभियान संचालन गरेर समस्या समाधान हुने त कुरै थिएन । फेरी उनलाई नियमले नि बाँधेको थियो ।
यस्तो अवस्थामा जागरुक यूवा समूहको गठन भयो । समूहका सबै स्वयमसेवकहरु मिलेर नगर प्रहरी र नेपाल प्रहरीको सहकार्यमा अहिले फुटपाथ पसल हटाउ अभियानले निरन्तरता लिएको छ ।
विगतमा जस्तो फेरी यो अभियान रोकिने त हैन भन्ने जिज्ञासामा अहिले यो अभियान संस्थागत भएको तुलाधर भन्छन् ।
‘अब कुनै एक दुई जना व्यक्ति रोकिएपनि अभियान रोकिने वाला छैन । यसो भन्दैमा म पनि रोकिने छैन,’ तुलाधरको भनाई हो । ‘फुटपाथ बटुवाको लागि हो, फुटपाथ पसललाई हामी निर्मूल नै गरेर छोड्छौं ।’
Categorized in समाज