arin enterprises

आज जुलाई २९, विश्व बाघ दिवस मनाईँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण १४, बुधबार

आज जुलाई २९, बाघको संरक्षणको महत्वबारेमा चर्चा गर्दै विश्वभरीमा विश्व बाघ दिवस मनाईँदैछ । 

बाघको संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवसको रुपमा मनाउने गरिन्छ । 

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले जुलाई २९ लाई विश्व बाघ दिवसको रुपमा मनाउने घोषणा गरेको हो । 

रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । 

यस दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको हासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गर्ने गरिन्छ ।

२० औँ शताब्दीको पूर्वाद्धमा बाघको संख्या दिनानुदिन घट्दै गएर अहिले लोपोन्मुख प्राणीको सूचीमा परिसकेको छ । जथाभावि जंगल फँडानी, जलवायू परिवर्तन, गैरकानुनी शिकार आदिको कारणले बाघको संख्या घट्दै गइरहेको हो ।

भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारिएको हो ।

 

‘सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् । 

आज अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरे अनुरूप तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे ।

सन्देशमा उनले बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबैभन्दा सुन्दर प्रजाति पनि भएको बताएका छन् ।

जनसंख्या वृद्धि र मानवीय गतिविधिका कारण विश्वमा बाघको संख्या दिन प्रतिदिन घट्दै गएकोमा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका छन् । 

नेपालमा सन् २०१० मा बाघको संख्या १२१ रहेकोमा सन् २०१८ मा बढेर २३५ पुगेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

बाघ संरक्षण गर्दा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी उनीहरुको हक अधिकार कुण्ठित नहुने गरी संरक्षणका कार्य गर्न पनि प्रधानमन्त्री ओलीले आव्हान गरेका छन् ।

Categorized in समाज