arin enterprises

कोभिड - १९ संक्रमित फोहोरमैला व्यवस्थापनमा स्थानीय तहको ध्यानाकर्षण

SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

हाल नेपालमा कोभिड - १९ संक्रमितको संख्या बढदै गएपछि स्वास्थ्यजन्य संक्रमित फोहोरको परिमाण पनि बढेसँगै यसको व्यवस्थापनको चुनौती उठेको छ । अन्य मुलुकको अनुभव हेर्दा कोभिड–१९ विरामी उपचार गर्दा अस्पतालमा संक्रमित फोहरको परिमाण ६ सय प्रतिशतसम्मले बढेको देखिन्छ । 

यस्तो समस्यालाई मध्यनजर गर्दै गैर सरकारी संस्था गुथिले विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको उपस्थितिमा एक अनलाइन छलफल कार्यक्रमको आयोजना गरेको छ ।

छलफलमा विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रोफेसनल अफिसर डा. सुदन पन्थीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमित फोहोरका समस्यालाई मध्यनजर गर्दै प्रकाशन गरेको ‘‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन’’ नामक आन्तरिक निर्देशिका बारे प्रस्तुति दिएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले मन्त्रालयद्वारा प्रकाशित निर्देशिका स्वीकृतिको प्रक्रियामा रहेको बताए ।

नयाँ जनस्वास्थ्य नियमावलीले फोहरमैलाको अनुगमन गर्न निरिक्षक राख्ने व्यवस्था गरेको जानकारी दिँदै उहाँले हाल कोभिड - १९ को संक्रमणको जोखिमका कारण सचेत भएर स्वास्थ्यजन्य फोहरसँग काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

नेपाल नगरपालिका संघका अध्यक्ष साथै धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु श्रेष्ठले सरकारले फोहरमैला व्यवस्थापनलाई प्राथमिक्ता नदिएको बताउँदै क्वारेन्टाइन सेन्टरबाट निस्कने फोहर, कोरोना रोगीले प्रयोग गर्ने सामग्री र कोरोना उपचारार्थ अस्पतालबाट निस्कने फोहरपानी व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

फोहरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धुव्र आचार्यले हाल काठमाडौं उपत्यकामा ३ हजार बढी होम आइसोलेसनमा रहेको अवस्थामा विरामीहरुको घरहरुबाट उठ्ने फोहर पनि सामान्य फोहोरमा मिसिने सम्भावना दर्शाउँदै गोपनियता कायम राख्दै संक्रमित घरबाट निस्कने फोहोर छुट्टै संकलन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डंगोलले उपत्यका क्षेत्रमै महामारीको अवस्थामा फोहोर व्यवस्थापन गर्न निर्देशिका अनुरुप कार्यान्वयनका लागि नगरपालिका मेयर फोरम मार्फत विशेष निर्णय गराउने प्रतिवद्धता उहाँले व्यक्त गरे ।

कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कोभिड महामारीको समयमा संक्रमण नियन्त्रण गर्न फोहरमैला व्यवस्थापन अत्यावश्यक अंग धारणा राखे । 

किर्तिपुर नगरपालिकाका वातावरण अधिकृत ज्ञान वज्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका वातावरण अधिकृत तुल्सी भक्त तको, फोहर मैला व्यवस्थापन संघका महासचिव मित्र प्रसाद घिमिरे, ललितपुर महानगरपालिकाका अधिकृत प्रदिप अमात्य, फोहोरमैला विशेषज्ञ महेश नकर्मी, वरिष्ठ नर्स शोभना राई लगायतले सफाइकर्मीहरुको स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताउँदै निर्देशिका कार्यान्वयनमा जोड दिएका थिए ।

 

निर्देशिकामा के छ ?

‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका २०७७’ अन्तरगत फोहोरमैला व्यवस्थापन गर्न निम्न निर्देशन दिइएका छन् ।

पहिलो निर्देशन फोहोरमैलाको उत्पादन घटाउने सम्बन्धि छ, जस अन्तर्गत व्यक्तिगत सुरक्षाको उपकरणको प्रयोग गर्दा जथाभावी प्रयोग नगर्ने, कम प्याकिङ्ग भएका सामाग्रीहरु प्रयोग गर्ने र राम्रो तरिकाले सफा गरी संक्रमण मुक्त पार्न सकिने सामग्री बढी प्रयोग गर्न निर्देशन दिइएको छ । 

दोस्रो बुँदा फोहोर वर्गीकरण सम्बन्धि छ, जसमा प्रशासनिक क्षेत्र र कुनै स्थानका फोहोरलाई असंक्रमित फोहोर र कोभिड–१९ विरामीको स्याहार सुसारको क्रममा उत्पादन हुने सम्पूर्ण फोहोरलाई संक्रमित फोहोर अन्तर्गत वर्गीकरण गरिएको छ । सम्पुर्ण संक्रमित फोहोरलाई स्पष्टरुपमा लेबल गरी बायोहाजार्ड ब्याग सहितका नफुटने, छिद्र नभएका भाँडाहरु (बिर्काे भएका विन, वाल्टिन) मा सुरक्षित तरिकाले संकलन गर्नुपर्दछ । 

अस्पताल बाहेकका स्थानहरु जस्तै क्वारेन्टाइन केन्द्र, होल्डिङ क्षेत्र, आगमन विन्दुमा प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरुलाई छुट्टै साँघुरो घाटी भएको वायोहाजार्ड झोला (Swan neck Biohazard bag) मा संकलन गरि मुख बाँधेर संकलन मिति समेत लेखेर राख्नुपर्दछ । यस्तो फोहोरको थप उपचारको आवश्यकता नभए पनि झोलालाई ०.५ प्रतिशत क्लोरिनको झोलले पुछेर राख्दा संभावित संक्रमणको जोखिम कम हुन्छ ।

अन्य संक्रमित फोहोरहरु (जस्तैः रगत तथा अन्य शरीरिका तरल पदार्थ मिश्रित फोहोरमैला, प्रयोगशाला नमुना, प्रयोग गरिएका केमिकलहरु, स्वाव, कपास, प्रयोग भएका उपचार सामग्री, मानव अंग, तन्तु, धारिलो वस्तु) लाई पुरै बन्द हुनेगरि वायोहाजार्ड चिन्ह भएको भाँडामा जम्मा गर्नुपर्दछ र छुट्टै संक्रमण मुक्त गर्ने प्रक्रियामा लगी उत्पादन भएको २४ घण्टा भित्रमा उपचार गरिसक्नुपर्दछ । घरेलु विरामी स्याहारमा प्रयोग हुने ग्लोब्स, मास्क र अन्य फोहोरलाई बिर्को भएको फोहोर संकलन गर्ने भाँडामा राखि संक्रमित फोहोरको रुपमा उचित विसर्जन गर्नुपर्दछ ।

सकेसम्म स्वास्थ्यजन्य फोहोरमैलालाई उत्पादन भएको क्षेत्रमै संक्रमनमुक्त बनाई सुरक्षित तरिकाले विसर्जन गर्ने र यदि सो फोहोर बाहिर लगिदैछ भने संवेदनशिल तवरले सोची बुझी, रेकर्ड राखी काम गर्नु पर्ने निर्देशनले जनाएको छ । अन्तिम विर्सजन भन्दा पहिले स्वास्थ्यजन्य संक्रमित फोहोरलाई अटोक्लेभ, माइक्रोओभेन आदि नजलाउने प्रविधिहरुको प्रयोग गरि संक्रमण मुक्त बनाउने र स्थानिय साधनश्रोत, अवस्था र परिवेश हेरी रसायनिक पदार्थहरु प्रयोग गरेर पनि फोहोरमैलालाई संक्रमणमूक्त बनाउन सकिने निर्देशनमा उल्लेख छ  । फोहोरमैलालाई जलाएर विर्सजन गर्ने कार्यलाई निर्देशनमा निरुत्साहित गरिएको छ ।

सिमित साधनश्रोतहरु भएका स्वास्थ्य संस्थाहरुमा विभिन्न संक्रमित फोहोरमैला व्यवस्थापनको लागि सानो खाल्डो खनेर फोहोर त्यसमा पुर्न सकिने र यस अवस्थामा सुरक्षित रुपमा खाल्डो बनाउने विधि निर्देशनमा उल्लेख छ ।  

यदि पर्याप्त र सुरक्षित ठाउँ उपलब्ध भएमा सामान्य फोहोर जस्तैः पानीको बोतल, कागज, कार्डबोर्ड, प्याकिङ्ग सामग्री इत्यादीलाई सुरक्षित रुपमा प्याकिङ्ग गरेर सुरक्षित क्षेत्रमा ७ दिनसम्म भण्डारण गरेर नगरपालिकाको फोहोरमैलामा विसर्जनको लागी पठाउनसकिन्छ । घरायसि रुपमा संकलन भएका फोहोर्लाई पनि नगरपालिकाको फोहोरमैलामा पठाउनुभन्दा पहिले कम्तिमा ७२ घण्टासम्म सुरक्षित रुपमा राख्नुपर्दछ । यो समय सम्म भण्डारण गर्नाले फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुलाई सम्भावित जोखिम धेरै मात्रामा घटाउन सकिन्छ । 

संक्रमणमुक्त गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरुको गैरकानुनी रुपमा पुनः प्रयोग हुने सम्भावना भएमा विसर्जन पुर्व नै ती सामग्रीहरुलाई काटेर वा बिगारेर विसर्जन गर्नुपर्दछ । धारिलो सतह भएको फोहोरमैलालाई विसर्जनपुर्व संक्रमणमुत्त बनाईसंस्थाकै परिसरभित्र सिमेन्ट प्लाष्टर गरिएको खाल्डोमा पुर्ने वा सिमेन्ट/कंक्रिटमा मिसाइ कुनै ड्रममा नझर्ने गरी डल्लो बनाएर (Encapsulation) गरी विसर्जन गर्नुपर्नेछ ।

कोभिड-१९संक्रमणको जोखिमलाई मध्येनजर गर्दे दुवै घरायसी तथा स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोर पुनःप्रयोगका गतिविधि नगर्न निर्देशनले जनाएको छ । ल्यान्डफिल साइटमा नकुहिने फोहोर छुट्याउने, छान्ने वा संकलन गर्ने कार्यमा कडा निगरानीकासाथ रोक लगाउन पर्ने निर्देशनमा उल्लेख छ    ।

फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारीको सुरक्षाका निम्ति फोहोरमैला व्यवस्थापनमा संलग्न व्यक्तिहरुले फोहोरमैला व्यवस्थापन सम्बन्धि आवश्यक तालिम प्राप्त गरेको हुनुपर्ने र उक्त कार्य गर्दा मापदण्ड अनुसार उपयुक्त व्यत्तिगत सुरक्षा सामग्रीहरु (बुट, लामो बाहुला भएको गाउन, मोटो/बलियो पन्जा, मास्क, चश्मा वा फेस सिल्ड) लगाउनुपर्ने र यस्तो सामग्री लगाउनुपुर्व र लगाइसकेपछि मापदण्ड अनुरुप हात धुनुपर्ने निर्देशनले जनाएको छ । साथै सम्पुर्ण त्यस्ता व्यक्तिहरु टिटानस, हेपाटाइटसको खोप लगाइसकेको र २४सै घण्टा post exposure prophylaxis को पहुँचमा हुनुपर्ने निर्देशनमा उल्लेख छ  । 

स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहोर पानी र ढलको व्यवस्थापनका निम्ति फोहोर पानीको उचित प्रविधि प्रयोग गरि राम्ररी व्यवस्थापन गर्नुपर्ने र विसर्जन प्रणलीमा भाइरस नष्ट गर्ने क्षमता नभएमा अन्तिम चरणमा क्लोरीनेसन जस्ता निःसंक्रमिकरण पद्धति अपनाउनु पर्ने बताइएको छ ।

Categorized in समाज