arin enterprises

नेवार समुदायमा आज यःमरि पुन्हि मनाईँदै

SamacharDesk – बिराज | २०७७ पौष १५, बुधबार

नेवार समुदायमा आज नयाँ भित्र्याइएको धानको चामलबाट यःमरि बनाएर खाँदै, बाँडेर ख्वाउँदै यःमरि पुन्हि मनाइरहेका छन् । नेपाल सम्वत अनुसार थिंला महिनामा पर्ने आजको दिनलाई थिंलापुन्हि पनि भन्ने गरिन्छ ।

आजको दिनमा नयाँ बाली भित्र्याइन्छ । मार्गशीर्षमा भित्र्याइने धान भएकोले यसलाई मार्गशीर्ष बाली भनिन्छ भने यसैको अपभ्रम्स भएर अचेल मारसी भन्ने गरिएको हो ।

विशेष गरी कृषकहरुले खेतमा लगाएको अन्नबाली पाकेपछि सोही बालीलाई आजको दिनमा भित्र्याउने हो । तर अचेल कृषि पेशा नगर्नेले पनि किनेरै भएपनि नयाँ अन्न भित्र्याउने गरेका छन् ।

आजै भित्र्याइएको नयाँ धानको चामलको पिठो बनाई, चाकु र तिल समेत राखेर विशेष किसिमको परिकार यःमरि बनाइन्छ । चामलको पिठोको डल्लोलाई गुम्बज आकार दिएर त्यसको गर्भमा चाकु र तिलको मिश्रण राखेर वफाउँदै यःमरि बनाइन्छ ।

जाडोको समयमा चामलको पिठोसँगै चाकु र तिलको यो परिकारले शरीरलाई न्यानोको साथमा आवश्यक पोषण पनि दिने पोषणविद्हरु बताउँछन् ।

चामलकै पिठोबाट यःमरिको साथमा दुवैतिर चुच्चो निकाली अण्डाकारको ल्वंचामरि अनि गणेश, कुबेर, लक्ष्मी आदि पनि बनाई नयाँ भित्र्याइएको धानसँगै भकारीमा राखेर पूजा गर्ने गरिन्छ ।

त्यसरी पूजा गरेर राखिएको चार दिनसम्म बन्द नै राखिन्छ भने चौथो दिनमा घरको छोरीले भकारी उघार्ने गर्छिन् । यसलाई स्थानीय नेपालभाषामा ‘स्वां क्वकायेगु’ भनिन्छ ।

यःमरिसँग जोडिएको सामाजिक/धार्मिक मान्यताहरु

यो दिनबाट यःमरिको चुच्चो जति लामो भयो दिन पनि त्यसै अनुरुप लामो हुँदै जाने र दिन छोटिँदै जाने जनविश्वाश छ ।

यःमरिलाई नेवार समुदायमा त्रिदेवको संगम दत्तात्रयको रुपमा पनि लिने गरेका छन् । आजको दिन दत्तात्रयमा मेला नै लाग्ने गर्दछ ।

यसैगरी पंचतत्व, पञ्चबुद्ध आदि विभिन्न धार्मिक दृष्टिकोणबाट पनि यःमरिलाई लिने गरिन्छ ।

सेतो चामलको पिठोको भाग दिन र भित्र कालो चाकु र तिलको भागलाई रातको रुपमा पनि व्याख्या गरिएको पाइन्छ ।

आजकै दिन केटाकेटीहरु जम्मा भई टोलमा सबैको घरघरमा गई ‘त्यःछिंत्यः बकछिंत्यः, लातापाता कुलिंचां जुसिंत्यः, भन्दै गाउँदै यःमरि माग्ने पनि चलन छ । यसलाई त्यःछिंत्यः भनिन्छ ।

यःमरिसँग जोडिएको विभिन्न संस्कृतिहरु

नेवार समुदायमा यःमरिको विशेष महत्व रहेको छ ।

ससाना बच्चाहरूको जन्मदिनमा यःमरिको माला लगाइदिने चलन छ । बच्चाको २, ४, ६, ८, ८, १० र १२ वर्षको जन्मदिनमा जति वर्ष हो त्यति नै यःमरिको माला लगाइदिने गरिन्छ ।

त्यस्तै गर्भ बोकेकी छोरीलाई दहि चिउरा ख्वाउन जाँदा पनि यःमरि अनिवार्य हुन्छ ।

त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरि खसाल्ने चलन छ ।

ललितपुरमा रातो मच्छिन्द्रनाथ र काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा पनि रथको टुप्पोबाट यःमरिको साथमा चतांमरि छर्ने चलन छ ।

यःमरि पुन्हिसँग सम्वन्धित किम्वदन्ति

तत्कालीन पाञ्चाल देश हालको पनौती शहरमा सुचन्द्र नाम गरेका एक महाजन आफ्नी पत्नी सशुीलासँग बस्थे । उनीहरु दुवै निकै दानी स्वभावका थिए ।

आफ्नो ढोकामा आइपुग्ने हरेकलाई खुसी तुल्याई दानधर्म गर्ने उनीहरुको व्यवहार देखेर परिक्षा लिन भनी एक दुःखी र दरिद्रको भेषमा, विमिरो एउटा बोकी कुवेर सुचन्द्रको घरमा गएछन् ।

दरिद्र रुपी कुवेरलाई देखेर सुचन्द्र दम्पत्ती उनलाई घरभित्र लगी नयाँ लुगा दिइ, मिठो परिकार पस्केर पेटभरी ख्वाए ।

उनीहरुको सत्कारले प्रसन्न भएर कुबेरले आफ्नो सक्कली रूपको दर्शन दिए र आफ्नो हातमा भएको विमिरो दिएर सोही विमिरोलाई धानसँगै भकारीमा राखी पूजा गर, भकारी कहिल्यै खाली हुँदैन भनी वरदान दिएर अन्तरध्यान भए ।

त्यो बेला सुचन्द्र दम्पत्तीले कुवेरलाई ख्वाएको परिकार यःमरि नै थियो ।

कुवेर गएपछि भकारीमा धान, यःमरिको साथमा विमिरो पनि राखेर पूजा गरे र त्यहि बेलाबाट यःमरि पुन्हि मनाउन थालिएको कथन छ ।

Categorized in संस्कृति