फुटबल एकेडेमी स्थापना गर्न पुलिस स्कुल र एन्फाबीच सम्झौता
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ४, आइतबार

नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । समझदारी पत्रमा हस्ताक्षसँगै दुवै पक्षले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गर्नुभयो । समझदारी पत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
फुटबलको विकासमा योगदान पुयाउन थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी र गौरवान्वित भएको बताउनुभयो । नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारी पत्र अनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्ष मुनिका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा समेत व्यक्तित्व विकासको आवश्यकता महसुस भई एन्फाको सहयोग एवं सहकार्यमा पुलिस स्कुल साँगामा ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापना गर्न लागिएको हो ।
एकेडेमीको स्थापना पश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लवले ए.एफ.सी. कप क्लव लाइसेन्सको लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्डहरु पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने अवसर प्राप्त हुनेछ ।
एकेडेमी स्थापना पछि समग्र व्यवस्थापनको लागि गठन हुने संचालक समितिले खेलाडीको छनोट एकेडेमीको नीति निर्माण, व्यवस्थापन, सुपरिवेक्षण एवं नियन्त्रण सम्बन्धि प्रमुख जिम्मेवारी निर्वाह गर्नेछ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, चेयरम्यान लिग कमिटिका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षकहरु, एन्फाका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल साँगाका प्रिन्सिपल लगायतका पदाधिकारीहरु एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
Categorized in स्पाेर्ट्स