छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालमा लिफ्ट सेवा शुरु
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ फाल्गुण ५, बुधबार

काठमाडौंको भित्री वस्ती क्षेत्रपाटीस्थित सामुदायिक अस्पताल छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु गरिएको छ ।
२०१३ सालमा स्थापित उक्त चिकित्सालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभयो ।
लिफ्ट उद्घाटनपछि कार्यक्रममा बोल्दै प्रमुख शाक्यले, काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिइरहेको अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
‘महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ । तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला, सहयोग गर्न महानगरपालिका तयार छ’ महानगर प्रमुख शाक्यले भन्नुभयो ।
अस्पतालको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि शाक्यले जानकारी दिनुभयो ।
अस्पताल संचालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले २५ शैय्याको अस्पतालमा ३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिदैँ आइरहेको जानकारी दिनुभयो । अस्पतालमा लिफ्ट जडानसँगै सेवा थप सहज भएको अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो ।
‘२०१३ सालमा स्थापित यस चिकित्सालयमा अहिले २५ शैय्या छन्,’ श्रेष्ठले भन्नुभयो, ‘ती बेडहरु माथिल्लो तलामा भएकोले सेवा प्रवाहमा कठिन थियो, अहिले लिफ्ट जडानसँगै सेवा सहज हुने अपेक्षा गरेका छौँ ।’
करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
भूमिगत २ तलासहित १० तले अस्पतालको भवन बनाउने योजना कार्यान्वयन चरणमा पु¥याएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
Categorized in समाज