नाट्य प्रतिष्ठान समावेशी नभएको सरोकारवालाहरुको गुनासो
SamacharDesk – बिराज | २०७८ बैशाख ९, बिहिबार

वरिष्ठ नाट्यकर्मी नारायणदेवी प्रधानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य र नाट्य कलाकारलाई समेट्न नसकेको बताउनुभएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रधानले प्रतिष्ठान विधागत रुपमा समावेशी बन्न नसकेको भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले कलाकारिता क्षेत्रमा नृत्य विधालाई उपेक्षा गर्ने गरिएको भन्दै नृत्य निर्देशकहरुको हक, अधिकारको आवाज बुलन्द गर्नका लागि नै संघ गठन गरिएको बताउनुभयो ।
नृत्य निर्देशकहरुको मृद्दालाई स्थापित सबैलाई संघमार्फत संगठित हुन अध्यक्ष श्रेष्ठले आव्हान गर्नुभयो ।
सोही कार्यक्रममा नेपाल सरकारको तर्फबाट २०७७ सालकालागि सुप्रबल जनसेवा श्री तृतीय पदकवाट सम्मानित शाखाकी सल्लाहकारसमेत रहेकी वरिष्ठ कलाकार नारायण देवी प्रधानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्याय, केन्द्रीय सचिव ज्ञान बहादुर महर्जन, केन्द्रीय प्रवक्ता तथा सदस्य ऋषिकेश श्रेष्ठ, सल्लाहकार मोहन ब्यन्जनकारको साथमा विभिन्न जिल्लाका पदाधिकारीहरुले शुभकामनासहित आ–आफ्नो मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा वि.सं. २०७८ को भित्तेपात्रो समेत सार्वजनिक गरिएको थियो ।
