११ गतेका लागि तयार हुँदै धरहरा
SamacharDesk – बिराज | २०७८ बैशाख ९, बिहिबार

आउँदो बैसाख ११ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नयाँ धरहराको समुद्घाटन हुन लागेको छ । समुद्घाटनको पूर्व सन्ध्यामा आइपुग्दा नयाँ धरहराको स्वरुप सबैको सामु आएको छ ।
निर्माणको क्रममा हरियो कपडाले छोपिएको धरहरा अहिले कपडा हटाईँदा खुला भइ सबैले हेर्न पाएका हुन् ।
२०७२ बैसाख १२ गतेको महाभुकम्पमा धरहरा ढलेको थियो । भीमसेन स्तम्भको नामले समेत प्रशिद्ध सोही ढलेको धरहराको ठुटोसँगै नयाँ धरहरा निर्माण गरिएको हो ।
लोकतन्त्र दिवसको अवसरमा बैसाख ११ गते प्रधानमन्त्रीबाट नयाँ धरहराको उद्घाटन हुने घोषणा भएपछि रातोदिन खटेर निर्माण कार्य गरिएको हो । हाल धरहरामा गजुर राख्ने काम पनि सम्पन्न भइसकेको छ ।
धरहराको निर्माण सम्पन्न भएको देखिएपनि पूर्ण भने भएको छैन । भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने अझै बाँकि छ ।
वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने योजना पनि रहेको छ । गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ ।
धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । पार्कतर्फ काम नसकिएपनि अहिले धरहराको उद्घाटन गर्न लागिएको हो ।
हाल निर्माण सम्पन्न भएको धरहरा बाहिरबाट हेर्दा बैसाख १२ गते ढलेको धरहरा जस्तै नै देखिन्छ । तर बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।
धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।
अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ ।
Categorized in राष्ट्रिय