arin enterprises

स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न मेयर शाक्यको आग्रह

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २४, शुक्रबार

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित गरेर राखेको पाइएको भन्दै संचित सिलिन्डर अस्पताल वा सम्बन्धित उद्योगमा बुझाएर सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो ।

कोभिड संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका कामसँगै उपचार पद्धतिलाई समेत सहज बनाउनु पर्ने बर्तमान अवस्था उल्लेख गर्दै अस्पतालमा उपचाररत प्लाज्मा आवश्यक भएका विरामीलाई दान गर्न सक्ने व्यक्तिहरुले प्लाज्मा दान गरिदिन पनि शाक्यले विज्ञप्तीमार्फत अनुरोध गर्नुभएको छ ।

आफुहरु संघीय सरकार, प्रदेश सरकार र अन्य नगरपालिकाहरुसँग समन्वय गरेर ठूला अस्पतालहरुमा विरामीको चाप घटाउने प्रयासमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।

‘कोभिडका विरामीको चाप रफ्तारमा बढ्दै गइरहेको बर्तमान परिस्थितिमा हाम्रो उद्देश्य विरामीको चाप घटाउने, सकुञ्जेल विरामी हुनै नदिनेतर्फ केन्द्रीत हुन जरुरी छ’ विज्ञप्तीमा लेखिएको छ, ‘अस्पतालको क्षमता र संख्या बढाउनु अहिलेको आवश्यकता हो तर यही नै निर्विकल्प समाधान होइन ।’

पानीको मुल सफा नगरी नदी सफा नहुने विचार राख्दै शाक्यले स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन नसकिनेमा जोड दिनुभयो । जटिल अवस्था आउन नदिन सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।

‘अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ, मास्कको अनिवार्य र सही प्रयोग गरौँ, साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ’ विज्ञप्तीमार्फत शाक्यले आग्रह गर्नुभएको छ ।

महामारीविरुद्धको अभियानमा सबै नागरिक सहभागिताका लागि प्रमुख शाक्यले अपेक्षा गर्नुभएको छ ।

Categorized in स्थानीय