प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल
SamacharDesk – बिराज | २०७८ बैशाख २७, सोमबार

प्रतिनिधि सभाको आज भएको विशेष अधिवेशनमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएका छन् ।
आज भएको मतदानमा जम्मा २३२ जना सांसदले मत दिएका थिए भने प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत मात्र परेको छ । विपक्षमा भने १२४ वटा मत परेको छ । मतदानमा १५ जना सांसद भने तटस्थ बसेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको साथमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव–बाबुराम भट्टराई समूह, राष्ट्रिय जनमोर्चा विश्वासको मतको विपक्षमा उभिएका थिए भने जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तटस्थ बसेका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नै दलबाटसमेत सबैको मत प्राप्त गर्न नसकेको देखिएको छ । सत्तारुढ नेकपा एमालेमा १२१ सांसद छन् । एमालेका माधव – झलनाथ समूह पक्षका सांसदहरु आजको मतदानमा अनुपस्थित रहेका थिए ।
प्रतिनिधि सभामा तत्काल कायम सदस्य संख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयासमा असफल भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।
विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनेछन् । प्रतिनिधि सभाको अर्को बैठक आउँदो वैशाख ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
Categorized in राजनीति