arin enterprises

उपत्यकामा ३ हजार ९२४ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ बैशाख २९, बुधबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ३ हजार ९२४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौंमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाखको नजिक पुगेको छ । हालसम्म उपत्यकामा एक लाख ९४ हजार ८८६ जनालाई कोभिड १९ को संक्रमण भइसकेको छ ।

हाल उपत्यकामा ४१ हजार ९१८ जना सक्रिय संक्रमित उपचाररत छन् । ४० हजार ५०४ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ४१४ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

१४८ जना आइसीयूमा भएका संक्रमितमध्ये ५७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

उपत्यकामा कुल संक्रमितमध्ये ७७ दशमलव ७७ प्रतिशत संक्रमणमुक्त भइसकेका छन् । कुल संक्रमितमध्ये हालसम्म एक लाख ५१ हजार ५५६ निको भइसकेका छन् । गएको २४ घन्टामा उपत्यकामा २ हजार १९३ जना संक्रमित निको भएका छन् ।

पछिल्लो पटक काठमाडौंमा ५९ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौंमा ४७ जना, ललितपुरमा ७ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।

उपत्यकामा हालसम्म एक हजार ४१३ जना संक्रमितको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय