एक हजार ८७५ संक्रमित थपिँदा एक हजार २८६ निको
SamacharDesk – बिकाश | २०७८ आषाढ २४, बिहिबार

नेपालमा आज पनि कोरोना संक्रमण निको हुनेको भन्दा नयाँ संक्रमितको संख्या नै बढि रहेको छ ।
आज जम्मा एक हजार २८६ जना मात्र संक्रमित निको हुँदा एक हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन् ।
परिक्षण संख्या पनि निकै कम मात्र रहेको छ । पछिल्लो पटक जम्मा १० हजार ५०४ वटा मात्र स्वाब नमूनाको परिक्षण गरिएको हो ।
५ हजार ३७४ आरटी पिसिआर परिक्षणमा एक हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परिक्षणमा ६५७ जना नयाँ संक्रमित भेटिएका हुन् । नयाँ संक्रमितमध्ये ४३ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ११ देखि २० वर्ष उमेर समूहका ९० जना छन् ।
हालसम्म एन्टिजेन र आरटी पिसिआर गरी ६ लाख ९२ हजार ८४९ वटा परिक्षणहरु भइसकेका छन् ।
संक्रमण निको हुनेको दर भने साढे ९४ प्रतिशत पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ६ लाख १५ हजार ६१३ जना संक्रमित निको भइसकेका छन् ।
हाल जम्मा २६ हजार ४४७ जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ६९२ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७५५ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ५७२ जनामध्ये १५७ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २९ रहेको छ । नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्यासमेत समायोजना गर्दै पछिल्लो २४ घण्टाको तथ्याङ्कमा २९ जना मृतक संख्या थप भएको हो ।
हालसम्म ९ हजार ३२० जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
सबैभन्दा बढि वागमती प्रदेशमा ३ हजार ९९५ जना संक्रमितको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक हजार ५५६ र प्रदेश एकमा एक हजार २४४ जनाको मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय