arin enterprises

दैनिक संक्रमण दर बढ्दै, निको हुने घट्दै

SamacharDesk – बिकाश | २०७८ श्रावण ५, मंगलबार

नेपालमा निषेधाज्ञा खुकुलो हुँदै गएसँगै कोभिड १९ को संक्रमण दर पनि बढ्दो देखिएको छ ।

दिनहुँ संक्रमितको संख्या बढ्दो छ । परिक्षण संख्या भने न्यून मात्र रहेको छ । यद्यपि जति परिक्षणको संख्या बढ्छ, सोही अनुपातमा संक्रमण दरसमेत बढ्दो देखिएको छ ।

आज परिक्षणको संख्याको २३ दशमलव ६६ प्रतिशतमा कोभिड २९ संक्रमण पुष्टि भएको छ ।

जम्मा १३ हजार १३५ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा ३ हजार १०८ जना संक्रमित भेटिएका हुन् । ८ हजार ८३६ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार २०२ जना र ४ हजार २९९ जनाको एन्टिजेन परिक्षणमा ९०६ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये ७१ जना १० वर्षसम्मका बालबालिका छन् भने १७४ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाख २१ हजार ६१७ पुगेको छ ।

दैनिक संक्रमण दर बढ्दै गएको अवस्थामा निको हुनेको दर भने घट्दै गएको देखिएको छ । केही दिन अघि साढे ९५ प्रतिशत पुगिसकेको निको हुनेको दर हाल ९४ दशमलव ६ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३४ हजार ९२७ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

हाल २६ हजार ४१९ जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ५८५ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा ५९२ जना छन् भने तीमध्ये १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप २५ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ६०७ जना पुगेको छ ।

Categorized in राष्ट्रिय