arin enterprises

अमेरिकामा जामनः गुभाजुले जित्यो ३ वटा अवार्ड

SamacharDesk – बिजयरत्न | २०७८ भाद्र ८, मंगलबार

अमेरिकाको न्यूयोर्कमा आयोजना भएको नेपाल आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०२१ मा नेपालभाषाको चलचित्र जामनः गुभाःजुले ३ वटा विधामा अवार्ड जितेको छ ।

२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (निफ) ले आयोजना गरेको महोत्सवमा जामनः गुभाःजुले उत्कृष्ट चलचित्रको साथमा उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको अवार्ड जितेको हो ।

पुरस्कृत फिल्म जामनः गुभाजुले अवार्डको साथमा एक हजार एक सय ११ डलर नगद पुरस्कारसमेत हात पारेको छ ।

महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्यदूत विष्णुप्रसाद गौतमले एक कार्यक्रमका बीच संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो ।

सो क्रममा उत्कृष्ट नायिकाको अवार्ड मगर भाषाको चलचित्र ट्याङचलाककी नायिका तिला मगरले जितेकी छन् भने लिम्बु फिल्म ‘के’ ले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाँकनको साथमा पब्लिक च्वाइस अवार्ड पनि जितेको छ ।

यसैगरी तामाङ जातिको प्राङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशकको अवार्ड हात पारेको छ ।

महोत्सव अमेरिकाको न्यूयोर्कमा अगष्ट २१ र २२ गते दुई दिन आयोजना भएको थियो । फिप्नाले २०१७ देखि महोत्सव सुरु गरेको हो भने यो तेश्रो महोत्सव हो ।

क्वीन्सको गुल्सन टेरेशमा भव्य समारोहबीच गरिएको अवार्ड वितरण कार्यक्रममा आफ्नो जातीय समूहको साँस्कृतिक भेषभुषासहित विभिन्न जातजातिका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न जातजातिको कला र संस्कृति झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक राजु लामा र जगदिस समालको विशेष प्रस्तुति रहेको थियो ।

Categorized in पेजथ्री