नेवाः जातीय महासंघको भिंतुना कार्यक्रम सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ कार्तिक ८, सोमबार

नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै विशेष गरी नेवार समुदायम नेपाल सम्वतको नयाँ वर्षको स्वागतमा व्यस्त भएको छ । अचेल विभिन्न नेवार संघसंस्थाबाट दिनहुँ जसो न्हूदँ (नयाँ वर्ष) शुभकामना कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
यसै क्रममा नेवाः जातीय महासंघले तिहार पर्व र नयाँ वर्ष नेपाल सम्वत् ११४२ को अवसरमा ‘भिंतुना कालबिल ज्याझ्वः’ को आयोजना गरेको छ ।
नेवार समुदाय भित्रका विभिन्न जातजातिको संस्थाको छाता संगठन नेवाः जातीय महासंघले गत शनिबार बसन्तपुरको डबलीमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले जातको नाम लिने वित्तिकै साम्प्रदायिक भनिहाल्ने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।
बहुजातीको बहुधर्म, बहुसंस्कृति नै नेवाः समुदायको साथै नेपालको समेत शक्ति र पहिचान भएको विचार राख्दै अध्यक्ष खड्गी समुदायको यहि विविधतालाई संगठित गर्दै महासंघ गठन गरिएको जानकारी दिनुभयो ।
‘नेवाः समाजमा विभिन्न जातजाति, धर्म, संस्कृति छ । यी सबै विविधतालाई एकै ठाउँमा संगठित गरेर विविधतामा एकता गर्नु हाम्रो उद्देश्य हो । सबैलाई यसमा संगठित हुन म आह्वान गर्न चाहन्छु’ खड्गीले भने ।
त्यसैगरी सबै जातीय संघसंस्थाको प्रतिनिधित्व गर्दै आफ्नो विचार राख्ने क्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले महासंघले देशैभरिका नेवार जातीय संघसंस्थालाई संगठित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघको लोगोसमेत सार्वजनिक गरिएको थियो । साथै, संचारकर्मी साथै लेखक पदम श्रेष्ठबाट लिखित ‘जातजाती र संघीयता : कति ठिक कति वेठिक’ पुस्तकको पनि लोकार्पण गरिएको थियो ।
महासंघका अध्यक्ष खड्गीको साथमा विभिन्न जातीय संस्थाका अध्यक्षहरुबाट संयुक्त रुपमा महासंघको लोगो र पुस्तक सार्वजनिक गरिएको थियो ।
Categorized in समाज