लेटरप्याड र मन्त्रिपरिषदको माइन्यूटमा नेपाल सम्वत प्रयोग गर्ने देउवाको प्रतिवद्धता
SamacharDesk – बिराज | २०७८ कार्तिक ८, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत प्रधानमन्त्रीको लेटरप्याडमा र मन्त्रिपरिषदको निर्णय पुस्तिकामा प्रयोग गर्ने कुरा ठूलो नभएको विचार राख्नुभएको छ ।
आज नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४२ का प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री देउवाले यस्तो भन्नुभएको हो ।
सो अवसमार नेवाः अगुवा साथै नेपाल संवत आन्दोलनका अग्रज मल्ल के सुन्दरले प्रधानमन्त्री देउवालाई उहाँको कार्यकालमा कम्तीमा पनि प्रधानमन्त्रीको लेटरप्याडमा, मन्त्रिपरिषदको निर्णय पुस्तिकामा साथै नेपालको नोटमासमेत नेपाल संवत प्रयोग गर्न अनुरोध गर्नुभएको थियो ।
नेता मल्लको अनुरोधको उत्तर दिँदै प्रधानमन्त्री देउवाले आफ्नो लेटरप्याड र मन्त्रिपरिषदको निर्णय पुस्तिकामा तत्कालै कार्यान्वयन गर्न सकिने भन्दै आफ्नो स्वकीय सचिवलाई तत्काल यसबारे विचार गरी कार्य सम्पादन एवं कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
समारोह समितिका सल्लाहकार, पूर्वमन्त्री, सांसद भिमसेनदास प्रधानलगायतले प्रधानमन्त्री देउवालाई नेपाल संवतको महत्व र जनस्तरबाट यो संवतलाई लिएर भइरहेको अभियानको विषयमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष निरञ्जनरत्न शाक्यको नेतृत्वमा बालुवाटार पुगेको न्हूदँ समारोह समितिको प्रतिनिधि मण्डलले आउँदो कार्तिक १९ गते नेपाल सम्वतको न्हूदँको दिनमा वसन्तपुरमा हुने न्हूदँ समारोहमा प्रमुख अतिथिको रुमपा उपस्थित हुन निमन्त्रणा गरेको छ ।
समितिको निमन्त्रणालाई स्वीकार्दै प्रधानमन्त्री देउवाले सो दिन आफु न्हूदँको समारोहमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
Categorized in राष्ट्रिय