स्वास्थ्य मापदण्ड पालना गर्दै भाईटीका गर्न प्रधानमन्त्रीको आग्रह
SamacharDesk – बिराज | २०७८ कार्तिक २०, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भाईटीका मनाउन आम नेपालीमा आग्रह गर्नुभएको छ ।
यमपञ्चकको पाँचौ र नेपालीहरूकाे दाेश्राे महान चाड तिहारकाे अन्तिम दिन आज भाईटीकाको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गर्नुभएको हो ।
शुभकामना सन्देशमा अझै पनि कोभिड १९ को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै खुसियाली साथ पर्व मनाउन आग्रह गरिएको छ ।
सोही सन्देशमा सरकारको निरन्तर प्रयास आम नेपालीको सहयोगले कोभिड १९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको दावीसमेत गरिएको छ ।
‘कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएको हुँदा होसियारीपूर्वक यस किसिमका चाडपर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने भएका छौं’ सन्देशमा लेखिएको छ ।
सोही सन्देशमार्फत प्रधानमन्त्री देउवाले तिहार जस्तो दिदीबहिनी र दाजुभाईको मिलन गराएर आपसी भाईचारा सम्वन्ध बढाउने पर्वले सबैलाई प्रेरणा र खुसी देओस् भनेर कामना गर्नुभएको छ ।
