निर्वाचनमा गरेका बाचा पूरा गरेको प्रचण्डको दावी
SamacharDesk – बिराज | २०७८ मङ्सिर ७, मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निर्वाचनका बेला जनता सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताउनुभएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित पूर्व प्रधानमन्त्री प्रचण्डले भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले यो आयोजना संचालन गर्न आफूले ठूलै लगानी गर्नुपरेको भन्दै यहाँको सुख्खा तथा उर्बरा जमिनमा कृषि उत्पादनमा वृद्धि गर्न समयमै गुणस्तरिय ढ्गंले निर्माण पुरा गरी संचालन गर्नुपर्ने बताउनुभएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चुनावमा धुलाम्मे रहेका अधिकांश सडक कालोपत्रे भैसकेको र बाँकी रहेका पनि पुरा गरेरै छाड्ने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने गरी सरकारले काम अगाडि बढाईसकेको बताए ।
८ करोड ५७ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकाे आयोजना १ बर्ष भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने लक्ष कार्यालयले लिएको छ ।
साथै अध्यक्ष प्रचण्डले वडा नं २४ र २७ को सुख्खा जमिनमा सिँचाईका लागी निर्माण गरिएका ५ वटा डिप बोरिङको पनि उद्घाटन गर्नुभएको छ ।
सिँचाई बिभागवाट संचालित बोरिङ तथा डिप बोरिङको गरी भरतपुर महानगरपालिका क्षेत्रभित्र १७४ स्थानमा निर्माण गरिएको छ ।
वडा नं. २४ को सुखा तथा उर्वरा जमिनमा यो आयोजना सम्पन्न हुँदा ३ सय बिगाहा क्षेत्रमा सिँचाई सुबिधा पुग्नेछ ।
Categorized in राजनीति