एमसीसी सम्झौताबारे देउवाको आग्रह पुनः अस्वीकार
SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको शीर्ष तीन नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनको लागि संसदीय प्रक्रियामा लैजान गरेको आग्रहलाई सत्तागठबन्धनका शीर्ष नेताले पुनः अस्वीकार गरेका छन् ।
एमसीसी सम्झौताका विषयमा आज भएको सत्ता गठबन्धनका शीर्ष तीन नेताको छलफलमा पनि प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुनः अस्वीकार गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेवल गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर, जवाफमा अध्यक्ष दाहाल र नेपालले यथास्थितिमा एमसीसी अगाडी बढाउन नसकिने पुरानै अडान दोहा¥याउनुभएको बुझिएको छ ।
एमसीसी सम्झौता अगाडि बढाउने विषयमा माओवादी र नेकपा एस आ–आफ्नै अडानमा हुँदो बैठक पनि बिना निष्कर्ष टुंगिएको हो । दाहाल र नेपालले एमसीसी टेबल गर्नुअघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने पुरानै धारणा राख्नुभएको छ । तर, प्रधानमन्त्री देउवाले भने संसदमा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी सम्झौता टेबल गर्न अब ढिला गर्न नहुने आफ्नो अडान दाहोर्याउनुभएको छ ।
अमेरिकाले एमसीसी बारे छिनोफानो गर्न नेपाललाई यही फेबु्रअरी अन्तिम अर्थात फागुन १६ गतेसम्मको समयसीमा दिइएको छ । पछिल्ला दिनमा अमेरिका र एमसीसीका उच्च पदाधिकारीले प्रधानमन्त्रीसहित नेपालका उच्च राजनीतिक नेतृत्वलाई एमसीसी सम्झौता संसदबाट छिटो अनुमोदन गर्न दबाब दिइरहेको छ ।
Categorized in राजनीति