arin enterprises

सरकार र चन्द समूहबीच छलफल

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

तीन बुँदे सहमति कार्यान्वयनका विषयमा आज सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच छलफल भएको छ ।
गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो ।
वार्तामा २०७७ फागुन २० गते नेपाल सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाउनुभएको थियो ।
सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनाएको बताउनुभयो ।

Categorized in राजनीति